कैलाली–५ मा गगन पक्षबाट मनुको उम्मेदवारी

कैलाली–५ मा गगन पक्षबाट मनुको उम्मेदवारी

नेपाली काँग्रेसको प्रदेश कार्य समितिका महामन्त्री नरनारायण शाह (मनु) फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर–५ बाट उठ्ने भएका छन् । निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिने महामन्त्री शाह विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा पक्षबाट उम्मेदवार बन्न लागेका हुन् । 

थापाले उम्मेदवार बन्न आग्रह गरेपछि उनी चुनावको तयारीमा जुटेका छन् । शाह पहिलोपटक चुनावमा होमिँदैछन् । महामन्त्री शाहले आफू चुनाव लड्ने निश्चित भएको पुष्टि गरे । पार्टीको जिल्ला सहसचिव र दुईपटक सभापति भएका उनी धनगढी जेसिज,क्रिकेट,फुटबल आयोजना गराउनेजस्ता सामाजिक गतिविधिमा जोडिँदै आएका छन् । 

काँग्रेसको भातृ संगठन नेपाल तरुण दल,कैलालीका अध्यक्षसमेत भएका शाह वि.सं.२०१५ सालको आम निर्वाचनमा काँग्रेसबाट निर्वाचित लोकेन्द्रबहादुर शाहका नाति र २०४९ मा जिविस सभापति मोहनबहादुर शाहका छोरा हुन् ।

उनले भने,‘अबको केही दिनमा आफ्नो चुनावी एजेण्डा सार्वजनिक गर्दैछु ।’ देउवा पक्षमा हुँदापनि उनले थापालाई सहयोग गरेका थिए । हुलाकी राजमार्ग कार्यक्रमको स्थानीय आयोजकझैंको भूमिका उनले निभाएका थिए । जबकि, देउवानिकट धेरैले सो कार्यक्रम बहिष्कार गरेका थिए । 

पछिल्लो आन्तरिक विवादले सुदूरपश्चिममा प्रभावशाली व्यक्ति चुनाव नलड्ने चर्चा चलेको बेला महामन्त्री शाह काँग्रेसबाट उम्मेदवार बन्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यता, नेकपा एमालेबाट सो क्षेत्रमा जिल्ला अध्यक्ष यज्ञराज ढुंगानालाई उम्मेदवार बनाउने निर्णय भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीनपटक डोटीमा चुनाव जितेका पूर्वमन्त्री प्रेमबहादुर आलेले उम्मेदवारी दिने भएका छन् । 

सो क्षेत्रमा २०५१ सालको मध्यावधि, २०६४ को संविधान सभा निर्वाचन र २०७४ मा क्रमशः एमाले, तत्कालीन माओवादी र वाम गठबन्धनबाट एमालेले चुनाव जितेपनि २०१५, २०४८, २०५६, २०७० र २०७९ को निर्वाचनमा काँग्रेसले विजयी हासिल गरेको थियो ।

टिप्पणीहरू