विवादास्पद ठेकेदार,रास्वपाको उम्मेदवार
‘जान्नेलाई छान्ने पार्टी’ ले विवादित पृष्ठभूमिको व्यक्तिलाई रुपन्देही क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनाएको पाइएको छ । सिफारिसविपरीत रास्वपाले विवादै विवादले घेरिएको बाबुल निर्माण सेवाका म्यानेजिङ डाइरेक्टर तोफिक अहमद खानलाई टिकट दिएको हो ।
उनलाई उम्मेदवार बनाएपछि रास्वपा क्षेत्रीय कमिटीमा भूकम्प गएको छ । रास्वपा निर्वाचन क्षेत्र नम्बर–५ ले गत पुस २४ गते उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो । जसमा डा.बुद्धिप्रसाद शर्मा, दुर्गाप्रसाद खनाल,गौतम पाण्डे, यमलाल भट्टराई र पार्वती ढकाल रहेका छन् ।
तर,तीमध्ये कसैले पनि टिकट पाएनन् । खान काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र (बालेन) साहको कोटाबाट उम्मेदवार बनेको स्रोत बताउँछ । उनको उम्मेदवारीलाई अस्वीकार गर्दै रास्वपाको क्षेत्रीय कमिटीले खुलेरै विरोध जनाएको छ ।
उनलाई उम्मेदवार बनाउनु पार्टीको सिद्धान्तविपरीत रहेको क्षेत्रीय कमिटीको ठहर छ । खानको निर्माण सेवाले सन् २०१८ मा रुपन्देहीमा दर्जनौं पुल निर्माणको ठेक्का लिएको थियो । ती परियोजना अलपत्र पारिएको छ । यता, अर्घाखाँची–बाबुल सेवाले संयुक्त रुपमा लिएको अर्को चार वटा पुलको ठेक्का पनि अधुरै छोडेको छ ।
‘हामीले स्थानीय तहमा भिजेकाहरुको नाम सिफारिस गरेका थियौं । तर, पार्टीले उनलाई उम्मेदवार बनाएछ । उनी बालेनको गुटको भन्ने सुनिएको छ । अहिले हामी त्यसै विषयमा छलफल गरिरहेका छौं ।’
सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा पर्नुपर्ने उनको कम्पनीलाई थप ठेक्का दिइएको भन्दै अभियन्ताहरुले प्रश्न उठाएका थिए । सन् २०१६ मा सो कम्पनीले रामापुर (भुम्री) पुल निर्माणका लागि चार करोड ९१ लाख रुपैयाँको ठेक्का पाएको थियो ।
जसको म्याद सन् २०१८ अप्रिलसम्म थियो । तर, सन् २०१९ सम्म उक्त पुलको काम ८१ प्रतिशत मात्र सम्पन्न भएको छ । सालझण्डीस्थित कञ्चन खोलामा पुल निर्माणका लागि उक्त कम्पनीले सन् २०१६ मा ठेक्का हात पारेको थियो ।
सन् २०१८ मा सम्पन्न गर्ने सम्झौता भएतापनि अहिलेसम्म निर्माण चलिरहेकै छ । ४८ प्रतिशत मात्र काम भएको छ । सन् २०२१ मा लुम्बिनी विकासका लागि ठेक्का आह्वान भएको थियो । तीन अर्ब ४० करोड रुपैयाँको विवादास्पद ठेक्कामा चार कम्पनीले आवेदन दिएको थियो ।
जसमध्ये एउटा बाबुल निर्माण सेवा पनि हो । नेपाल निर्माण व्यवसायी महासंघले उक्त टेण्डर केही सीमित कम्पनीलाई फाइदा पुग्नेगरी ‘टेलर’ गरेको आरोप लगाएको थियो । उक्त कम्पनीका सञ्चालक साफिक अहमदमाथि सन् २०२४ अप्रिलमा सडक निर्माणको ठेक्का पाउन बैंक खातामार्फत घुस रकम पठाएको आरोप लागेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको करिब एक करोड ८५ लाख रुपैयाँले जग्गा खरिद भएको पुष्टि गरेको थियो । त्यहीँ वर्ष अख्तियारले सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता गर्यो । मुद्दामा लुम्बिनी कोषका पूर्वअधिकारीमाथि बाबुल निर्माण सेवा र जेभीबाट आएको घुस रकमबाट जग्गा खरिद गरेको उल्लेख छ । उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ । आर्थिक वर्ष २०७५–७६ यता कम्पनीले करिब १३ करोड ७२ लाख रुपैयाँ बराबरको सार्वजनिक ठेक्का जितेको छ ।
सार्वजनिक निर्माण अलपत्र पार्ने र घुसकाण्डमा मुछिएकालाई टिकट दिएपछि रास्वपामाथि प्रश्न उठेको छ । रास्वपाका रुपन्देही–५ का सभापति दुर्गाप्रसाद खनालले उनलाई टिकट दिइएकोमा असन्तुष्टि पोखे । हाल त्यसै विषयमा छलफल भइरहेको उनले जानकारी दिए । जनआस्थासँग उनले भने,‘हामीले स्थानीय तहमा भिजेकाहरुको नाम सिफारिस गरेका थियौं । तर, पार्टीले उनलाई उम्मेदवार बनाएछ । उनी बालेनको गुटको भन्ने सुनिएको छ । अहिले हामी त्यसै विषयमा छलफल गरिरहेका छौं ।’
उनका अनुसार प्रायःजसोले खानलाई उम्मेदवार बनाउने निर्णयको विरोध गरिरहेका छन् ।
टिप्पणीहरू