सबैको ध्यान रुकुमतिरै केन्द्रित छ  : प्रचण्ड

सबैको ध्यान रुकुमतिरै केन्द्रित छ  : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र तथा सञ्चार माध्यमको ध्यान रुकुम पूर्वतिरै केन्द्रित रहेको बताएका छन् । 

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवारी दिन आज रुकुमकोट पुगेका प्रचण्डले यसअघि मिडियामा मात्र प्रचण्ड रुकुम पूर्वबाट समाचार लड्ने समाचार आएतापनि अब आफू स्वयम् जिल्लामै उम्मेदवारी दर्ता गर्न आइपुगेको बताए । 

सोमबार दिउँसो नेपालगञ्ज बिमानस्थलबाट रुकुम पश्चिमको सल्ले विमानस्थल झरेका प्रचण्ड रुकुम पश्चिममा पार्टीको तर्फबाट उम्मेदवार बनेका गोपाल शर्मालाई आफ्नो हस्ताक्षरसहितको टिकट दिएर स्थलमार्गबाटै रुकुमकोट पुगेका थिए । 

रुकुमकोटमा कार्यकर्ता र सञ्चारकर्मीहरुसँगको भेटमा प्रचण्डले सिंगो देश चुनावमय बन्दै गएको बताए । ‘के होला,कसो होला भन्ने थियो’ प्रचण्डले भने, ‘अब बिस्तारै चुनावमा गएको छ, सबै राजन्तिक दल चुनावतिर लागेका छन् ।’ निर्वाचन नभई शान्ति र समृद्धि नहुने उनको भनाइ छ । प्रचण्डले ठूला दलहरु विभाजन हुनु राम्रो नभएको जनाए । 

पत्रकारहरुलाई सराकात्मक सञ्चार प्रवाह गर्न अनुरोध गरेका प्रचण्डले पार्टी कार्यकर्ताहरुलाई भने जनयुद्धको आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको जनाएका छन् । अन्य राजनीतिक दल र जनप्रतिनिधिहरुलाई पनि प्रचण्डले आ -आफ्नो ठाउँबाट चुनावको सफलताको निम्ति भूमिका निभाउन अनुरोध गरेका छन् । 

आफ्नै पार्टीका र अन्य दलका नेताहरुले समेत काठमाडौं गएर रुकुम पूर्वबाट उठेपछि खुशी छौ भनेपछि रुकुमबाटै चुनाव लड्न थप उत्प्रेरित गरेको प्रचण्डको भनाइ छ ।

प्रचण्डले पूर्वी रुकुमको समग्र विकासका लागि एकचोटी प्रयत्न गर्नुपर्छ भन्ने लागेर रुकुम पूर्व रोजेको प्रतिक्रिया दिएका छन् । आफ्नै पार्टीका र अन्य दलका नेताहरुले समेत काठमाडौं गएर रुकुम पूर्वबाट उठेपछि खुशी छौ भनेपछि रुकुमबाटै चुनाव लड्न थप उत्प्रेरित गरेको प्रचण्डको भनाइ छ । 
प्रचण्डसँग चुनाव लड्न नेपाली कांग्रेस, नेकपा (एमाले), प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि आफ्ना उम्मेदवार अघि सारेका छन् ।  

नेकपा एमालेले पार्टीका निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लीलामणि गौतमलाई उम्मेदवार बनाउने भएको छ । गौतमले पार्टीको महाधिवेशनमा ४० वर्ष कम उमेरबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य बनेपछि जिल्ला अध्यक्ष छोडेका थिए । 

नेपाली कांग्रेसले कुसुमदेवी थापा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी यसअघि कांग्रेसको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य थिइन् । 

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दिप पुन उम्मेदवार रहेका छन् । उनी जनयुद्धका शहीदका पुत्र हुन् ।

टिप्पणीहरू