बागमती प्रदेश प्रमुख शर्मा सिकिस्त बिरामी

बागमती प्रदेश प्रमुख शर्मा सिकिस्त बिरामी

मुटुसम्बन्धी रोगबाट समस्या भोग्दै आइरहनु भएका बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा सिकिस्त बिरामी हुनुभएको छ । उहाँको अहिले काठमाडौँस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको निजी सचिवालयले जनाएको छ ।

शर्मा ७ बर्षदेखि मुटुसम्बन्धी रोगबाट पीडित हुनुहुन्छ । संविधान दिवस मनाएलगत्तै असोज ४ गतेबाट गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि उहाँलाई भर्ना गरिएकामा स्वास्थ्य अवस्था थप जटिल बनेपछि असोज ९ गते उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा रिफर गरिएको थियो ।

तर, चिकित्सकको सल्लाहबमोजिम असोज १० गते बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रमुख शर्माको उपचार भइरहेको स्वकीय उपसचिव पारशमणि फुयाँलले जानकारी दिनुभयो ।

असोज ९ गते मुटुको चाल नै बन्द भएजस्तो अवस्थामा पुग्नुभएका प्रमुख शर्माको स्वास्थ्यमा आइतबारबाट सुधार आएको उहाँले जानकारी दिनुभयो । फुयाँलका अनुसार प्रमुख शर्माको अहिले डा.सूर्य देवकोटाको टिमले उपचार गरिरहेको छ ।

टिप्पणीहरू