कुकुरको मासिक कमाई ६० हजार रुपैयाँ

कुकुरको मासिक कमाई ६० हजार रुपैयाँ

नेपाली सेनाले हरेक वर्ष शान्ति सेनामा समेत आफ्ना तालिमप्राप्त कुकुर पठाउँदै आएको छ । २०५९ सालदेखि नै शान्ति मिसनमा कुकुर पठाउन शुरु गरेको सेनाले हालसम्म १३ वटा कुकुरहरू पठाइसकेको छ ।

अहिले पनि लिबियास्थित शान्ति मिसनमा चार वटा कुकुर खटिएका छन् । उक्त मिसनमा खटिने कुकुरको मासिक तलब भने झण्डै ६० हजार रुपैयाँको हाराहारीमा रहेको छ । कुकुरले सो रकम कामको प्रकारअनुसार संयुक्त राष्ट्र संघबाट सुविधावापत पाउने गरेका छन् ।

२०७३ सालअघि कुकुरलाई लाइबेरियामा पठाउने गरिए पनि अहिले भने लिबियामा मात्र पठाउने गरिएको छ । सुरक्षा गार्ड र गस्तिमा खटिने कुकुरका लागि प्रतिजोडा ८ सय ९० अमेरिकी डलर र खोज तथा उद्धारमा खटिने कुकुरका लागि प्रतिजोडा ९ सय ९५ अमेरिकी डलर राष्ट्र संघले उपलब्ध गराउने गरेको नेपाली सेनाले जनाएको छ ।

त्यसरी आएको रकम ती कुकुरको खानपिन र स्वास्थ्य उपचारमा खर्च हुने गरेको छ । र, बचेको रकम सैनिक कल्याणकारी कोषमा जम्मा हुने समेत सेनाले जनाएको छ ।

शान्ति मिसनमा जाने कुकुरको सेवा अवधि निश्चित नहुने र उनीहरूले उमेर र स्वास्थ्यले साथ दिएसम्म सेवा गर्ने गरेको भए पनि अहिले नेपाली सेनाले पाँच वर्षमुनिका कुकुरलाई मात्र शान्ति मिसनमा पठाउने गरेको छ ।

टिप्पणीहरू