सबै श्रेणीहरू

टाट उल्टिनै लागेको संकेत हो यो ?

टाट उल्टिनै लागेको संकेत हो यो ?

जब कुनै मुलुकमा निर्यातको तुलनामा आयातले आकाश छुन्छ, मुलुक भित्रिने विदेशी मुद्राभन्दा बाहिरिनेको परिमाण अस्वाभाविक रूपले बढी हुन्छ । सञ्चित मुद्राको परिमाणले विदेशबाट आयात गर्ने सामान र सेवा ६ महिना हाराहारीलाई पनि नपुग्ने भएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत निकायले त्यस्तो मुलुकलाई आर्थिक हिसाबबाट टाट पल्टिएको घोषणा गर्छन् । हाम्रो सन्दर्भमा पनि त्यस्तै लक्षण देखिएको आकलन गरिएको छ । तैपनि, सरकार र राष्ट्र बैंकले सोझो र प्रस्ट हिसाबले उक्त कुरा उल्लेख गरेका छैनन् । 

गत साता राष्ट्र बैंकले जारी गरेको ०७६÷७७ को मौद्रिक नीतिलाई सर्सर्ती हेर्ने हो भने पनि मुलुक आर्थिक हिसाबले निकै जर्जर भएको घुमाउरो भाषामा स्विकारिएको छ । नीतिको प्रारम्भमै ‘मुलुकको बाह्य क्षेत्र व्यवस्थापनमा भने केही दबाब उत्पन्न भएको’ उल्लेख गरिनुले विदेशी मुद्राको आम्दानी घट्दै गएको र सञ्चितिमा ह्रास आएको स्वतः बुझ्न सकिन्छ । नीतिमा गत वर्षको अघिल्लो ११ महिना व्यापार घाटा १७.२ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब ९६ करोड पुगेको उल्लेख छ । यसमा सबैभन्दा बढी भारत र दोस्रोमा चीनबाट आयात भएको देखिन्छ । तर, हाम्रो मुलुकबाट ती देशमा हुने निर्यातको परिमाणले निराशापूर्ण अवस्था चित्रण गरेको छ ।

निर्यातभन्दा आयात बढ्दा मुलुकको शोधनान्तर घाटा ९० अर्ब ८३ करोड पुग्न जान्छ । आयात हेर्दा हामीसँग रहेको विदेशी मुद्राको सञ्चितीले सात महिना हाराहारीलाई पुग्ने वस्तु तथा सेवा मात्र आयात गर्न सकिने कहालीलाग्दो अवस्थाको संकेत गरेको छ । करिब ३४ वर्षअगाडि यस्तै अवस्था देखिएको थियो । तैपनि, त्यसबेला कृषि उपजलगायत दैनिक उपभोग्य र विलासिताका सामान आयातमा त्यत्ति धेरै खर्च गरिएको थिएन, जति अहिले भइरहेको छ ।