ओली बार्दलीबाट, विप्लव टहराबाट झुल्किने !

ओली बार्दलीबाट, विप्लव टहराबाट झुल्किने !

एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली बालकोटको बार्दलीबाट हुंकार गर्ने र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोटेश्वरबाट जवाफ फर्काउने, अनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने खुमलटारमा रमाइरहेको बेला अर्को कम्युनिष्ट घटकका प्रमुख नेत्रविक्रम चन्द ‘विप्लव’ भने ललितपुरको हरिसिद्धिमा टहरा बनाएर बस्न थालेका छन् ।

उनी पार्टी प्रतिबन्ध हुनुअघि कलंकीमा बस्थे । पटक पटक डेरा सर्नु पर्ने विप्लवको यो टहरा पनि स्थायी बसोबास स्थल भने होइन । टहरा बनाइएको जमीन पार्टीकैं एक नेताको भएको स्रोतले जनाएको छ । विप्लवको परिवारका अन्य सदस्यहरू चैं कपिलवस्तुको हल्लानगर गाउँतिरै छन् । पार्टीको हेडअफिस भने बुद्धनगर काठमाडौंमा छ ।

टहरा बनेपछि विप्लव कपिलवस्तुको केन्द्रीय कमिटी बैठकमा व्यस्त छन् । सबै जसो दलका नेतालाई घर–घरमा र कृष्णबहादुर महरालाई आफ्नै टहरामा भेटेर उनी जिल्लातिर निस्किएपछि पार्टी प्रवक्तासमेत रहेका खड्गबहादुर बिक प्रकाण्डलाई केन्द्रमा पार्टी सञ्चालन र गृहमन्त्रीसँग भेटवार्ता अनि आगामी स्थानीय चुनावमा भाग लिनेबारे अन्य तयारी गर्न भ्याइनभ्याइ भएको थियो ।

आउँदो स्थानीय निर्वाचनमा भाग लिने छेकछन्द देखाएको यस पार्टीले थुनामा रहेका नेता तथा कार्यकर्ताको रिहाइमा ढिलाइ गरेको भन्दै तीव्र असन्तुष्टि जनाउने गरेको छ । सशस्त्र विद्रोह त्यागेर शान्तिपूर्ण राजनीतिको मूलधारमा आएको यस पार्टीका देशभर विभिन्न जेलमा ८७ जना नेता तथा कार्यकर्ता छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध, डाँका मुद्दालगायत गैरराजनीतिक अभियोग पनि लगाइएको छ ।

थुनामा रहेका सबै नेता तथा कार्यकर्तालाई तत्कालै रिहाई गर्नेलगायत ३ बुँदे शर्त भए पनि ओली सरकारले सोको इमान्दारीपूर्वक पालना गरेको थिएन । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार पनि ‘सकारात्मक बोल्ने तर नकारात्मक नै हुने’ देखिएको टिप्पणी उक्त पार्टीका एक नेताले गरेका छन् ।

एमसीसी पारित भएपछि वर्तमान राजनीतिमा पार्टीको धारणा स्पष्ट पार्न केन्द्रीय समितिको बैठक बसिरहेको छ । स्थानीय निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्ने भनिए पनि कुनै कारण तेस्र्याएर सार्ने तयारी भैरहेको अनुमान विप्लवको पार्टीले गरेको छ । यसका लागि सत्ता गठबन्धन, प्रतिपक्ष एमाले पनि तयार रहेको बताइन्छ ।

स्थानीय चुनावमा कांग्रेस र कम्युनिष्टले गर्न सक्ने घाती कामका कारण गठबन्धनमा तिक्तता बढ्ने र यसले संघीय तथा प्रदेश निर्वाचनलाई व्यापक असर पार्ने सम्भावना भएकाले मिति सार्ने भित्री तयारी भैरहेको विप्लवका नेताहरूको ठहर छ । ती नेताका अनुसार, सबैतिरबाट खुइलिँदै गएपछि नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष खड्गप्रसाद ओलीले आउँदो चुनावमा रामजन्मभूमिको फण्डा उछाल्ने अडकल लगाइएको छ ।

अर्कोतर्फ विप्लव र महराबीच बाक्लो भेटघाट हुँदा माओवादी केन्द्रका अर्का नेता वर्षमान पुन ‘अनन्त’ भने रुष्ट देखिएका छन् । उनले ‘प्रचण्डको पार्टीमा बस्ने, विप्लवको काम गर्ने’ भन्दै टिप्पणी गरेको बताइन्छ ।

टिप्पणीहरू