अघिल्लो सरकारले अलपत्र पारेका पत्रकारको सित्तै उपचार गराउँछु- विरोध खतिवडा

अघिल्लो सरकारले अलपत्र पारेका पत्रकारको सित्तै उपचार गराउँछु- विरोध खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पत्रकारहरुको निःशुल्क उपचार गर्ने प्रतिबध्दता जनाउनुभएको छ । नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवसको अवसर पारेर उहाँले यस्तो बताउनुभएको हो ।

पत्रकारहरुको स्वास्थ्योपचारको लागि स्वास्थ्य मन्त्रालय,सञ्चार मन्त्रालय र पत्रकार महासंघबीच समन्वय र सहकार्य गरेर अघि बढ्न आफू सकारात्मक रहेको मन्त्रीको भनाइ छ । पत्रकार हकहितका लागि उचित प्रस्ताव लिएर मन्त्रालयमा आउन पनि उहाँले महासंघलाई आग्रह गर्नुभयो ।

श्रमजीवी पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा यसअघिको बजेटमा ल्याइएको भएपनि अहिलेसम्म कार्यान्वयन नहुनु चिन्ताको विषय भएको मन्त्री खतिवडाले बताउनुभयो ।

“२०७८/०७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाउने भनेको थियो ।”

अघिल्लो सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाउने भनेको थियो ।

बजेटमा साउन १ गतेबाट नै पत्रकार महासंघको सदस्य रहेका पत्रकारहरुलाई उपचार सुविधा परिचयपत्रको आधारमा देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषय पनि उल्लेख थियो ।

तर,बजेटमा भएको व्यवस्था कार्यान्वयनमा आउन नसकेको भन्दै महासंघलगायत सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

टिप्पणीहरू