३ वटा सम्झौता पारित गर्दै बिमस्टेकको सम्मेलन सकियो

३ वटा सम्झौता पारित गर्दै बिमस्टेकको सम्मेलन सकियो

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को श्रीलंकाको राजधानी कोलम्बोमा भएको पाँचौं शिखर सम्मेलनले तीन वटा सम्झौता पारित गरेको छ । सम्मेलनले बिमस्टेक बडापत्र पनि पारित गरेको छ ।

आज भएको राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरुको भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको हो । नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले बडापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्मेलनले आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि र कोलम्बोमा प्रविधि हस्तान्तरण सुविधा स्थापनासम्बन्धी आबद्धता सम्झौता पारित गरेको हो ।

त्यस्तै बिमस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान/प्रशिक्षण संस्थाहरूबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र पनि अनुमोदन भएको छ ।

सम्मेलनमा प्रधानमन्त्रीले काठमाडौंबाट भर्चुअल माध्यमबाट र परराष्ट्रमन्त्री नारायण खड्काको टोलीले कोलम्बोबाट सहभागिता जनाइएको हो ।

सम्मेलनले बिमस्टेकको अध्यक्षता थाइल्याण्डलाई दिएको छ । नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड बिमस्टेकका सदस्य राष्ट्र हुन् ।

टिप्पणीहरू