देश मुस्लिम,धर्म संरक्षण बुध्दको
मुस्लिम राष्ट्र भए पनि पाकिस्तानले बुध्दिष्ट धर्मसम्बन्धी प्रचार र प्रवर्धन गर्न थालेको छ । सोही क्रममा त्यस्तै कार्यक्रम काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज राजधानीमा आयोजना गरेको छ ।
आजको कार्यक्रममा बुध्द धर्म र सोसँग सम्बन्धित तस्बिर समेटिएको एउटा पुस्तक सार्वजनिक गरिएको हो । प्राध्यापक ओमचरण अमात्यले लेख्नुभएको उक्त पुस्तकमा पाकिस्तानमा रहेका बौध्द धर्मसँग सम्बन्धित सम्पदा र त्यहाँको बौध्दधर्मबारे सचित्र वर्णन छ ।
आज काठमाडौंमा त्यहि पुस्तकको विमोचन गरिएको हो । सो कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले हुनुहुन्थ्यो भने अतिथिहरुमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर साह हुनुहुन्थ्यो । उहाँहरुले उक्त पुस्तकको महत्वमाथि प्रकाश पार्नुभएको हो ।
काठमाडौं आफैंमा सम्पदाले भरिपूर्ण शहर हो । पुस्तकका लेखक अमात्य सम्पदै सम्पदाले भरिपूर्ण भक्तपुरका हुनुहुन्छ । पाकिस्तानमा २ हजार बर्षअगाडि नै बौध्दलगायतका धर्मको प्रचार भएको पुस्तकमा उल्लेख छ ।
त्यसैगरी त्यहाँ हिन्दु मन्दिरहरु पनि रहेको लेखकले उल्लेख गर्नुभएको छ । विशेषगरी कटासराज त्यहाँको प्रख्यात हिन्दु मन्दिर हो । इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले दुई सय वर्षअघि एक जना नेपालीले बनाएको मन्दिर भर्खरै भ्रमण गर्नुभएको थियो ।
सन् १९४७ मा भारतबाट छुट्टिएर पाकिस्तानको उदय भएको हो । भारतमा दुई पटक प्रधानमन्त्री बनेका मनमोहन सिंहसमेत अहिलेको पाकिस्तानी भूमिमा जन्मेका थिए । भारतका चर्चित कलाकार दिलिप कुमार पनि उतै जन्मेर भारतमा प्रख्यात भएका हुन् । कतिपय भारतीय कलाकार जन्मेका घर र थलोलाई पाकिस्तानले समेत सांस्कृतिक सम्पदाको रुपमा जोगाएर राखेको बताइन्छ ।
टिप्पणीहरू