बालकृष्ण खाँणलाई देउवाको जिम्मा
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाउनुभएको छ । कांग्रेसमा देउवानिकट भनेर चिनिनुहुने गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीले आफ्नो अनुपस्थितिमा कार्यवाहक तोक्नुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासन कार्य गर्न गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि सम्वत् २०७८ साल चैत्र १८ गते शुक्रवार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा गृहमन्त्री बालकृष्ण खाँणज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आज दिउँसो भारतको तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा त्यसतर्फ लाग्नुभएको छ । उहाँसँगै पत्नी आरजू राणा देउवा,उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा, विभिन्न मन्त्रालयका सचिव, पत्रकारलगायत ५५ जनाको टोली केही बेरअघि नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली उडेको हो ।
देउवाको बिदाइ गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री खाँण, परराष्ट्र मन्त्री डा. नारायण खडकालगायत उच्चपदस्त सरकारी अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए ।

टिप्पणीहरू