गर्मीयामसँगै औलोको डर, सावधानीनै यसबाट बच्ने गतिलो भर
आज विश्व औलो दिवस हो । हरेक वर्षको २५ अप्रिलमा विश्व औलो दिवस मनाइन्छ । नेपालमा पनि औलोको जोखिम न्यून गर्न ‘नयाँपनमा जोड दिऔं र जीवन बचाऔ’ भन्ने नाराका साथ यो दिवस मनाईंदैछ । सरकारले सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य राखेको छ ।
लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोग निवारणका निम्ति सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । औलो रोगबाट बच्न र यसको निवारणमा थप योगदान दिन नवीन सोच, निदानशैली, स्वस्थकर व्यवहारमा जोड दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
औलोका लक्षणहरुः
सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया, एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने गम्भीर प्रकारको रोग हो । १० देखि १५ दिनसम्म निरन्तर ज्वरो आउनु, टाउको दुख्नु, शरीरका भित्री अंग सुन्निनु, जोर्नी दुख्नु, शरीरमा रगतको मात्रा कम हुनु तथा थकित महशुस हुनु यसका लक्षण हुन् ।
औलोको शंका लागेमा रगत परीक्षण गरी पोजिटिभ देखिए सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गराउन सकिन्छ । लामखुट्टेको टोकाइबाट जोगिनु नै औलोबाट बच्ने मुख्य उपाय हो । झुल टाँगेर सुत्ने, सकेसम्म लामो बाहुला भएका लुगा लगाउने, लामखुट्टे भगाउने धुप वा मल्हमको प्रयोग गर्नु नै यो रोगबाट बच्ने उत्तम उपाय भएको मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू