गठबन्धनमा गडबडी, उम्मेदवारीमा उन्माद
वैशाख ३० गते हुने सात सय ५३ स्थानीय तहको निर्वाचनका कारण पाँचदलीय गठबन्धनमा गडबडी देखिएको छ । नेकपा एसले गठबन्धनमा नेपालभरि ८० मेयर–उपमेयर र ८७ अध्यक्ष–उपाध्यक्षको दाबी गरेको थियो । धेरै सिट कांग्रेस र माओवादी केन्द्रले पाउने भएपछि कम्तीमा वडाध्यक्षसम्ममा आफूलाई प्राथमिकता दिनुपर्ने उसको अडान रहेको वार्तामा संलग्न उपमहासचिव डा. विजय पौडेलले बताए ।
यसै कारण नेकपा (एकीकृत समाजवादी)ले देशभर तालमेल नभएका ठाउँमा उम्मेदवारी दिएको छ । गठबन्धनको बैठकमा स्थानीय तहको भागबण्डा मिलाउन कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन, नेकपा एसका तर्फबाट प्रमेश हमाललगायत बसेका थिए ।
बैठकमा एसका प्रतिनिधिले आफूलाई बाहिर राखेर भरतपुर महानगरको विषयमा दुई पार्टी टुंगोमा पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेको बुझिएको छ । नेका र माकेले आफ्नै ढंगको निर्णय गर्न खोजेपछि एस सकेसम्म गठबन्धनप्रति इमान्दार हुने र सहमत भएका पोखरा, दाङ, इटहरीलगायतका स्थानमा भएको तालमेललाई कायम राख्ने निर्णयमा पुगेको छ ।
तर, देशभरका अन्य गाउँ तथा नगरपालिकामा भने एक्लै उम्मेदवारी दिने निर्णय छ । यही नीतिका कारण १२ गते एसले देशभरका स्थानीय तहमा सहमति नभएको स्थानमा उम्मेदवार खडा गरेको छ । गठबन्धनका सबै दल इमान्दार हुने हो भने १६ गते उम्मेदवारी फिर्ता लिएर गठबन्धनभित्र देखिएको भाँजो र असझदारीलाई मिलाउन सकिने झिनो सम्भावना पनि छ ।
तर, गठबन्धन दलबीच भएको महानगरपालिका र उपमहानगरपालिकाको चुनावी तालमेल भने सफल भएको छ । जसअन्तर्गत कांग्रेसले काठमाडौंको मेयर र एसले उपमेयर, ललितपुरको मेयर र उपमेयर दुवैमा कांग्रेस, विराटनगरमा मेयर कांग्रेस र उपमेयर जनता समाजवादी पार्टीलाई दिइएको छ । त्यसैगरी, माओवादी केन्द्रले भरतपुरको मेयरमा उम्मेदवारी दिएको छ भने उपमेयरसहित सम्पूर्ण वडामा कांग्रेसले उम्मेदवार उठाउने तय भएको छ ।
पोखरामा एसले मेयर, नेकाले उपमेयर र वडाध्यक्षहरूको सिटमा पनि आपसी तालमेल गरेको छ । त्यसैगरी, वीरगञ्जमा जनता समाजवादी पार्टीको भागमा मेयर परेको छ भने उपमेयरमा कांग्रेस र वडाध्यक्षमा तालमेल भएको छ । धरान, जनकपुर, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढीको मेयरमा कांग्रेसका उम्मेदवारले प्रमुख पद पाउने सहमति भएको छ ।
गठबन्धनभित्रै कांग्रेस र नेकपा माओवादी केन्द्रबीच धेरैजसो स्थानमा उप गठबन्धन भएको छ । यसले गर्दा आगामी दिनमा गठबन्धनका ऐक्यबद्ध गतिविधिमा अप्ठ्यारो हुने सम्भावना बढेर गएको बताइन्छ ।
टिप्पणीहरू