माओवादी नेताहरुको एउटै टेबलमा भोजन : रहर कि बाध्यता ?
नेकपा माओवादी केन्द्रका ‘दुई किनारा’ अर्थात् जनार्दन शर्मा ‘प्रभाकर’ र नेता वर्षमान पुन लामो समयपछि ‘अनन्त’ एउटै टेबलमा देखिएका छन् ।
हिजो दिउँसो उनीहरू सिंहदरबारस्थित बसेरा होटेल पुगेपछि उक्त दृश्य देखिएको हो । स्रोतका अनुसार शर्मा र पुनले लामो समयपछि दिउँसोको खानासँगै पार्टी–संगठन र स्थानीय तहको आउँदो निर्वाचनबारे समीक्षा गर्न उक्त चाँजोपाँजो मिलाएका हुन् ।
माआवादीभित्रैका कतिपयले दुई नेताको ‘भोजनवार्ता’ लाई देखावटी चटक भनेका छन् । महासचिवका मुख्य दाबेदार शर्मा र पुन बसेरा होटेलमा संयोगले पुगेको भन्नेहरु पनि छन् । बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरूसँगको संवाद कार्यक्रममा पुगेका पुनसँग अर्थमन्त्री शर्मा खाना खाने क्रममा भेटिएका हुन् ।
मुलुकको अर्थतन्त्रको विषयलाई लिएर एक पछिल्लो पटक अर्काविरूद्ध राजनीतिक मैदानमा उत्रिएका उनीहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा भने आजका मितिसम्म बराबर छन् ।
गठबन्धनभित्रको किचलो र माओवादी केन्द्रको खस्किँदो जनमतले दुबै जना चिन्तित भएकाले हिजो बसेर गम्भीर छलफल गरेको बताइन्छ । विभिन्न प्रसंग जोडेर कतिपयले शर्मा र पुनको हिजोको छोटो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिनुपर्ने भनेका छन् ।
माओवादीको जीवनरेखामा अध्यक्ष पुष्पकमल दाहाल रहँदासम्म यी दुई किनाराको राजनीतिक मिलन लगभग मुश्किल रहेको उनीहरुसँग निकट नेताहरुले बताउँदै आएका छन् । तर पनि स्थानीय तहको निर्वाचन अघिसम्म शर्मा र पुनले आफूहरू एकमत र एकजुट भएको सन्देश भने दिन चाहेका छन् ।
जनयुद्धको गर्भदेखि संसदीय राजनीतिक यात्रासम्मै माओवादी जीवनमा सँधै फैलिइरहेका दुई किनारा हुन्, ‘प्रभाकर’ र ‘अनन्त’ ।
जनार्दन खरो स्वभावका छन् भने वर्षमान कूटनैतिक शैलीका देखिन्छन् । दुबैजना दुबैतिरबाट माओवादीरुपी रंगशालामा निर्णायक खेल खेल्न चाहन्छन् । युद्धको ‘कमाण्ड’ देखि संसदीय राजनीतिलाई समेत बराबर हैसियतमै हाँकिरहेका यी दुई पात्र अहिले माओवादीभित्र महासचिवको लडाईंमा भुसको आगोझैँ होमिएका छन् ।
टिप्पणीहरू