केशव स्थापितलाई पत्र काटेर बहादुर भवन बोलाइयो
आफ्नो अभिव्यक्तिका कारण चर्चा र विवादमा रहेका काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । महिलाका विषयमा दिएको उनको अभिव्यक्तिलाई लिएर आयोगले आज पत्र लेख्दै २४ घण्टे स्पष्टीकरण मागेको हो ।
‘२४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौं,’ निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले बताए । गत साता स्थापितले धुम्बाराहीस्थित नेसनल कलेजमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर स्पष्टीकरण सोधिएको उनले बताए ।
कार्यक्रममा भावना राउत नामकी एक सहभागीले स्थापितमाथि लागेको ‘मि टु’ का बारेमा प्रश्न गरेकी थिइन् । तर, जवाफ दिने क्रममा निकै उत्तेजित भएका स्थापितले ‘यु आर ब्युटीफुल लेडी, तर थुतुनो ठीक भएन’ भनेका थिए । उनको उक्त अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला हिजो महानगरकै मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि अराजनीतिक टिप्पणी गरेपछि उनी थप विवामा परेका हुन् । आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो ।
टिप्पणीहरू