स्थानीय तहको निर्वाचनमा महिला सहभागिता : कुन पार्टीमा कति प्रतिशत ?

स्थानीय तहको निर्वाचनमा महिला सहभागिता : कुन पार्टीमा कति प्रतिशत ?

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलका तर्फबाट ३७ दशमलब ८३ प्रतिशत महिलाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार उम्मेदवारी दिने एक लाख ५३ हजार दुई सय २० जनामध्ये ५७ हजार नौ सय ६७ जना महिला हुन् ।

सबैभन्दा बढी महिला उम्मेदवार एमालेले उठाएको छ । एमालेको तर्फबाट उम्मेदवारी दिने ३३ हजार पाँच सय तीन जनामध्ये १४ हजार चार जना (४१ दशमलब ७९ प्रतिशत) महिला छन् । एमालेले प्रमुख पदमा २७, अध्यक्षमा २८, उपप्रमुखमा दुई सय ६०, उपाध्यक्षमा ४१०, वडाध्यक्षमा एक सय १८, महिला सदस्यमा छ हजार चार सय ११, दलित महिला सदस्यमा छ हजार दुई सय नौ र सदस्यमा पाँच सय ४१ जना महिलालाई उम्मेदवार बनाएको छ ।

महिला उम्मेदवारको दोस्रो ठूलो संख्या नेपाली काँग्रेसमा रहेको छ । काँग्रेसको तर्फबाट उम्मेदवारी दिने कूल ३१ हजार चार सय २५ जनामध्ये १२ हजार आठ सय ८२ जना (४० दशमलब ९९ प्रतिशत) महिला छन् । काँग्रेसको तर्फबाट प्रमुखमा १२, अध्यक्षमा १९, उपप्रमुखमा एक सय ८२, उपाध्यक्षमा दुई सय ९३, वडाध्यक्षमा ८०, महिला सदस्यमा छ हजार ९२, दलित महिला सदस्यमा पाँच हजार आठ सय २८ र सदस्यमा तीन सय ७६ जना महिलाले उम्मेदवारी दिएका छन् ।

महिला उम्मेदवारमा तेस्रो ठूलो संख्या माओवादी केन्द्रको देखिएको छ । जसमा कूल २२ हजार दुई सय ७९ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये आठ हजार नौ सय ७७ जना (४० दशमलब २९ प्रतिशत) महिला हुन् । माओवादीले प्रमुखमा १८, अध्यक्षमा २९, उपप्रमुखमा एक सय ३३, उपाध्यक्षमा दुई सय तीन, वडाध्यक्षमा ९२, महिला सदस्यमा चार हजार एक सय ८७, दलित महिला सदस्यमा तीन हजार नौ सय १८ र सदस्यमा तीन सय ९७ जना महिला उम्मेदवार उठाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसपटकको निर्वाचनमा कूल १२ हजार सात सय ५२ जना उम्मेदवार उठाएको छ । उठाएकामध्ये चार हजार छ सय आठ जना (३६ दशमलब १३ प्रतिशत) महिला उम्मेदवार छन् । उसले प्रमुखमा २७, अध्यक्षमा १५, उपप्रमुखमा एक सय ९९, उपाध्यक्षमा एक सय ८५, वडाध्यक्षमा एक सय २२, महिला सदस्यमा दुई हजार एक सय ४३, दलित महिला सदस्यमा एक हजार छ सय ८२ र सदस्यमा दुई सय ३५ जना महिलालाई अघि सारेको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले उठाएका कूल ११ हजार तीन सय ३० उम्मेदवारमध्ये चार हजार दुई सय ६७ जना (३७ दशमलब ६६ प्रतिशत) महिला छन् । समाजवादीले प्रमुखमा २३, अध्यक्षमा १२, उपप्रमुखमा एक सय ७, उपाध्यक्षमा एक सय १२, वडाध्यक्षमा ७२, महिला सदस्यमा दुई हजार २७, दलित महिला सदस्यमा एक हजार छ सय २७ र सदस्यमा दुई सय ८७ जना महिलालाई उम्मेदवार बनाएको छ ।

जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट उम्मेदवारी दिने नौ हजार चार सय ८१ जनामध्ये तीन हजार छ सय ७१ जना (३८ दशमलब ७१ प्रतिशत) महिला छन् । तीमध्ये प्रमुखमा १५, अध्यक्षमा १०, उपप्रमुखमा एक सय १०, उपाध्यक्षमा एक सय ३१, वडाध्यक्षमा ६२, महिला सदस्यमा एक हजार सात सय, दलित महिला सदस्यमा एक हजार चार सय ९८ र सदस्यमा एक सय ४५ जना महिलालाई उठाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट उठेका चार हजार सात सय ६१ जना उम्मेदवारमध्ये एक हजार नौ सय ३२ जना (४० दशमलब ५७ प्रतिशत) महिला छन् । लोसपाले प्रमुखमा ५, अध्यक्षमा ३, उपप्रमुखमा ७३, उपाध्यक्षमा ५४, वडाध्यक्षमा ३७, महिला सदस्यमा आठ सय ६४, दलित महिला सदस्यमा आठ सय र सदस्यमा ९६ जना महिलालाई उम्मेदवार बनाएको देखिन्छ ।

टिप्पणीहरू