चुनावको ३ दिन ‘दारु’ पिउन निषेध
गोरखामा स्थानीय तहको निर्वाचनको मौन अवधिमा मादक पदार्थ किनबेच गर्न र पिउन नपाइने नियम लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले चुनावलाई केन्द्रित गरेर मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाएको हो ।
प्रशासनले आयोजना गरेको सर्वदलीय बैठकले मौन अवधिको समयमा जिल्लाभर मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो । जिल्लाको शान्ति सुरक्षामाथि पर्न सक्ने असरलाई दृष्टिगत गरी होटेल, रेष्टुरालगायतका व्यवसायले बैशाख २५ गतेदेखि जेठ ७ गतेसम्म साँझ साढे नौ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने छन् ।
त्यहाँका सिडिओ शंकरहरि आचार्यका अनुसार निर्वाचन अवधिभर जिल्लाका लागि आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायतका संघ संस्थाले आवश्यक व्यवस्था मिलाउने छन् ।
राजनीतिक पार्टीहरुले निर्वाचनका लागि प्रचार प्रसारका क्रममा सामाजिक सद्भाव खलबलिने किसिमका कार्यक्रमहरु हुन नदिन एकै स्थान, समय र बाटो पर्ने गरी कार्यक्रम आयोजना नगर्ने, चुनाव प्रचारप्रसारका लागि कार्यक्रम गर्दा स्थानीय प्रशासन वा प्रहरीलाई जानकारी गराएर मात्र सञ्चालन गर्ने सहमति पनि सर्वपक्षीय बैठकमा भएको प्रशासनले जनाएको छ ।
टिप्पणीहरू