माओवादीविरुद्ध बागी उम्मेदवारी हाल्नेमाथि कठोर बन्दै काँग्रेस

माओवादीविरुद्ध बागी उम्मेदवारी हाल्नेमाथि कठोर बन्दै काँग्रेस

-कमल भट्टराई

नेपाली काँग्रेस ताप्लेजुङले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी हाल्नेमाथि कठोर कदम उठाएको छ । पार्टी निर्णयविपरित बागी उम्मेदवारी दिएका जिल्लाका २२ जना नेता तथा कार्यकर्तालाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरि काँग्रेसले पार्टीबाट निष्कासनको कारबाही थालेको हो ।

निष्कासनमा पर्नेहरुमा आधिकारिक उमेदवारविरुद्ध वडाध्यक्षमा बागी उम्मेदवार बनेका पाथीभरा याङवरक–४ का चन्द्रमान खोयाङसहित उनको टिमबाट वडा सदस्यका उम्मेदवारहरु जुनिता साम्सोहाङ, गृधन राई, रामकुमार लिम्बू र राजेन्द्र सेनेहाङ छन् । खोयाङ काँग्रेसका आमन्त्रित जिल्ला सदस्य हुन् ।

त्यसैगरी, काँग्रेसको पालिका समितिका सदस्यसमेत रहेका सिरिजंघा–७ मा वडाध्यक्षका बागी बुद्धिप्रसाद दाहाल पनि कारबाहीमा परेका छन् । वडासदस्यमा बागी उठेका सोही वडाका शर्मानन्द दाहाल प्रेमिका लिम्बू, जगतप्रसाद साम्यु, ओमादेवी सार्की पनि निष्कासित भएका छन् ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध वडाध्यक्षको छुट्टै उम्मेदवारी हालेका सिदिङवा–७ का काँग्रेसका क्रियाशील सदस्य बुद्धिवीर तामाङ, सिदिङ्वा–६ का कृयाशील सदस्य रत्नबहादुर कडरिया, सिदिङवा–३ का क्षेत्रीय प्रतिनिधि हस्तबहादुर कटुवाल, सिदिङवा–४ का क्षेत्रीय प्रतिनिधि तेजबहादुर लिम्बू पनि कारबाहीमा परेका छन् ।

त्यस्तै, फुङलिङ नगरपालिका–११ का वडा सभापति मनित इजमले वडाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवारविरुद्ध बागी हालेपछि निस्कासनमा परेका छन् । फुङलिङ नगरपालिका ११ का पार्टी नगर सहसचिव ध्रुवराज भट्टराई, क्षेत्रीय प्रतिनिधि देवेन्द्र भट्टराई, क्षेत्रीय प्रतिनिधि कमला विष्ट, क्रियाशील सदस्य मिरा विक पनि माओवादी उमेदवारविरुद्ध वडा सदस्य उठेका थिए । उनीहरु चारै जनालाई काँग्रेसले कारबाही गरेको छ ।

फुङलिङ नगरपालिका–५ को वडाध्यक्षमा गठबन्धनका आधिकारिक (माओवादी) उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि टिकेन्द्र नेपाली र फुङलिङ नगरपालिका–४ मा वडा सदस्यमा गठबन्धनका माओवादी उम्मेदवारविरुद्ध बागी बनेका कांग्रेस कृयाशिल सदस्य रामकुमार लिम्बु पनि कारवाहीको सूचीमा थपिएका छन् ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका फक्ताङलुङ–४ का दत्तबहादुर लिम्बूलाई पनि काँग्रेसले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

जिल्ला कार्यसमिति ताप्लेजुङले कारबाही बोधार्थ प्रदेश कार्यसमिति विराटनगर, प्रदेश अनुशासन समिति विराटनगर, केन्द्रीय कार्यालय सानेपा, केन्द्रीय अनुशासन समिति सानेपामा पनि पठाएको जनाएको छ ।

टिप्पणीहरू