कमरेडहरुबीच रुकुममा खुकुरी हानाहान

कमरेडहरुबीच रुकुममा खुकुरी हानाहान

माओवादी पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएको विषयमा बढ्दै गएको रिस र आवेगले कार्यकर्ताहरु खुकुरी हानाहानमा उत्रिएका छन् । रुकुमको त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएको विषयमा माओवादी कार्यकर्ताहरुबीच खुकुरी हानाहान भएको हो । हानहानमा कार्यकर्ताले खुुकुरीको मार सहनुपरेको छ ।

स्वतन्त्र र माओवादी पार्टीका कार्यकर्ताबीच भएको झडपमा छ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ रुँघामा गएराति १ बजे झडप भएको हो ।

झडपमा परेर स्थानीय ४२ वर्षका धर्मेन्द सुनार, वर्ष ३८ का टिकाजंग मल्ल, वर्ष ३१ का जीवन पुन, वर्ष ६८ का बलबहादुर पुन, वर्ष १७ का चेतन केसी र वर्ष ४० का यमबहादुर पुन घाइते भएका हुन् । घाइतेमध्ये धर्मेन्द्र, टिकाजंग र जीवनको अवस्था गम्भीर भएकाले थप उपचारको निम्ति राति नै नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएको छ ।

तीनै जनाको टाउकोमा गहिरो चोट लागेको बताइएको छ । अन्य तीन जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । उनीहरुको ढाडमा चोट लागेको बताइएको छ । प्रहरीका अनुसार गाउँपालिकाको १ नम्बर वडामा माओवादी केन्द्रका गाउँपालिका उपाध्यक्ष सुन्दर ओलीले स्थानीय तह निर्वाचनको निम्ति आफ्नो नेतृत्वमा वडाध्यक्षसहितको स्वतन्त्र प्यानल बनाएर बागी उम्मेदवारी दिएको विषयमा विवाद हुँदा झडप भएको हो ।

उक्त वडामा माओवादीले लक्ष्मण ओलीलाई वडाध्यक्षको उम्मेदवार उठाएको छ । लक्ष्मण र सुन्दरपक्षका कार्यकर्ताहरुबीच विवाद बढेपछि झडपको अवस्था आएको हो । त्यसक्रममा एक अर्काले खुकुरी प्रहार गरेका हुन् ।

स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका पार्टीको गाउँपालिका उपाध्यक्ष सुन्दर वोली र वडा सदस्यको उम्मेदवारी दिएका पार्टीको वडासचिव पूर्णबहादुर बुढालाई पार्टीको निर्णय विपरित उम्मेदवारी दिएको भन्दै पार्टीले गत १८ गते पार्टीबाट निलम्बन गरेको थियो ।

टिप्पणीहरू