विमान खसाल्ने तोप ल्याएपछि सबै पाइलट फेल
०७२ सालको संविधान घोषणाताका ५ महिनाको नाकाबन्दी थोपरेको भारतले नेपाली सेनालाई बेलाबेला अनौठो व्यवहार गरेर पेल्ने गरेको पाइएको छ । भारतले ०४५ सालताका नेपालमाथि नाकाबन्दी लगाएको बेला पाइलट ट्रेनिङमा गएका सबै सैनिक अधिकृतलाई ‘अनुत्तिर्ण’ गराइदिएको थियो । राजा वीरेन्द्रले छिमेकी मुलुक चीनबाट एन्टीएयरक्राफ्ट गन खरिद गरेर सैन्य क्षमतालाई सुदृढ गरेपछि भारतले रिसाउँदै नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको हो ।
आर्थिक नाकाबन्दीले मात्रै चित्त नबुझी पाइलट ट्रेनिङमा गएका सबैलाई असफल भनेर फर्काई रिस फेरिएको थियो । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको पालामा गरिएको यो नाकाबन्दीका कारण इन्धन आपूर्तिमा निकै कठिनाइ हुन पुगेको थियो भने मट्टीतेललगायत अत्यावश्यकीय इन्धनको आपूर्ति गर्न सिंगापुरबाट प्लेन चार्टरसमेत गरिएको थियो । त्यसबेला अनुत्तीर्ण गराइएका २२ बेसिकका सैनिक अधिकारीहरूमा यही महिना घर जान लागेका दुई तारे जर्नेल विज्ञानदेव पाण्डेसमेत थिए ।
यसैगरी, सेवानिवृत्त महासेनानी प्रकाशजंग कार्की, पदम आङ्बो, सुरेश बानियाँ र बेद उप्रेतीलगायत २० जना अधिकृत थिए । यीमध्ये बेद उप्रेतीले भने पछिल्लो समयमा पुनः भारतमै गएर पाइलटको ट्रेनिङ लिई अहिले पनि निजी क्षेत्रको जहाज उडाइरहेका छन् । प्रकाशजंग कार्की महासेनानीको जागिर सकी राजेन्द्र लिङ्देन नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन भूतपूर्व सैनिक संगठनको नेतृत्व सम्हालेर संगठन विस्तारमा जुटेका छन् ।
उनले राप्रपाको कमाण्ड सम्हालेयता मानार्थ दुईतारे जर्नेल भएर रिटायर्ड लाइफ बिताइरहेका भक्तपुरका भरत खड्का र पूर्व सेनापति रुकमांगद कटवालका एक्का भूपू महासेनानी डिकबहादुर थापालाई सैनिक संगठनमा आवद्ध गर्न सफल भएका छन् । थापाले संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको रूपमा भाग लिन सुडान जाँदा भएभरका पल्टनको राहदानी नेपालमै छाडेका थिए ।
यही हुस्सुपनका कारण नेपाली सेनाले बेइज्जत हुनुका साथै आर्थिक क्षति पनि व्यहोर्नु परेको थियो । उनले नेपालमै छोडेको राहदानी लिन चार्टर्ड प्लेन नै फर्काउनुपरेको थियो । ६ वर्षअघि भएको यो घटनामा संयुक्त राष्ट्रसंघले नेपाली सेनाले पाउने ७ करोड रूपैयाँ क्षतिपूर्तिवापत काटेको बताइन्छ ।
सेनाको राजनीतिक थलो राप्रपा ?
नेपाली सेनाबाट अवकाशप्राप्त माथिल्लो दर्जाका अधिकृतहरू मूलधारका राजनीतिक दलहरू भन्दा परम्परावादी पुरातन दलतर्फ नैं आकर्षित भएको पाइएको छ । धेरैजसो त्यस्ता अधिकृत नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायत लोकतान्त्रिक र वामपन्थी दलहरूभन्दा फरक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ संगठित भएका छन् ।
एकताका सम्भार रथी भएका र रसुवा सोम्दाङ सडक निर्माणको नेतृत्व गर्ने दुई तारे जर्नेल कुमार फुदुङ माओवादीमा गएका थिए भने सिपाहीबाट जम्दार हुँदै २४ बेसिकबाट पास आउट भएका गोरखाली बोधबहादुर अधिकारीहरू पनि राजनीतिमा सक्रिय देखिएका छन् ।
रसियन हेलिकप्टर खरिदले हावामै कावा खायो
स्थानीय चुनावको मुखमा गुपचुप किन्न लागिएको दुई थान रसियन हेलिकप्टरको च्याप्टर तत्काललाई करिब करिब बन्द हुने अवस्थामा पुगेको छ । सो हेलिकप्टर किन्नको लागि अर्थमन्त्रालयले बजेट स्वीकृत गर्नुका साथै खरिदको निर्णय गराउन बिचौलिया दिपक भट्ट सक्रिय थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले पनि निकै चासो दिएका थिए ।
तर अब यो निर्णय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माहौलकै कारणले भए पनि तुरुन्तै कार्यान्वयन नहुने अवस्थामा पुगेको छ । गतहप्ता रसियन दलालहरू नेपाल आए पनि जंगी अड्डामा भने छिर्न नपाएको स्रोतले दाबी गरेको छ ।
टिप्पणीहरू