विप्लवका छुट्न बाँकी नेता, कार्यकर्ता कति ?

विप्लवका छुट्न बाँकी नेता, कार्यकर्ता कति ?

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत माओवादीले क्रान्तिलाई वीचमै अलपत्र पारेर संसदीय भासमा फसेको भन्दै मोहन वैद्य किरणको नेतृत्वमा नेकपा(माओवादी गठनको शुत्रधार नेत्रविक्रम चन्द विप्लव थिए । मूल पार्टीबाट बिद्रोह गरेर बैद्यको नेतृत्वमा नयाँ पार्टी गठन गर्न निर्णायक भूमिका खेलेका विप्लव त्यहाँ पनि लामो समय टिक्न सकेनन् र आफ्नै नेतृत्वमा अर्को विद्रोह गरे ।

संसदवादका विरुद्ध ‘एकीकृत जनक्रान्ति’ को नीति लिएर नेकपा गठन गर्दै केही वर्ष भूमिगत भएको नेकपा १४ महिनाअघि मूलधारको राजनीतिमा फर्कियो । झण्डै तीन वर्ष तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारबाट राजनीतिक प्रतिबन्ध झेलेर २०७७ फागुन २१ गते उनै ओलीसँग तीन बुँदे सम्झौता गरेर उक्त पार्टीका महासचिव विप्लव प्रचण्डकै बाटोमा फर्किए । त्यहि सहमतिलाई आधार मानेर खुला प्रतिस्पर्धाको राजनीतिमा आएको नेकपा वैशाख ३० गतेको स्थानीय चुनावमा भाग लिन कस्सिएर लागेको छ ।

तर, चुनाव उपयोग गर्ने विप्लवको नीतिले उनको पार्टीमा अन्तरकलह भुसको आगो झैँ चर्किएको छ । एकीकृत जनक्रान्तिलाई बीचैमा अलपत्र छाडेर चुनावी राजनीतिमा आएको भन्दै सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोला ‘कन्चन’ असन्तुष्ट छन् । शीर्ष नेताहरुबीचको मतभेद आपसी आरोप–प्रत्यारोप हुँदै पार्टीबाट निष्कासन गर्ने तहसम्म पुगेको छ । चुनाव उपयोग कि बहिष्कार भन्नेमा शीर्ष तहमा बढेको विवादले पार्टीमा माथिदेखि तलसम्मका नेता–कार्यकर्ता कित्ताकाटमा उत्रिएका छन् ।

विप्लवहरुले ओली सरकारसँग भएको तीन बुँदे सहमतिलाई महत्वपूर्ण उपलब्धिका रुपमा व्याख्या गरेर चुनावमा जाने नीति लिए पनि नेकपाका थुप्रै कार्यकर्ता अहिले पनि जेलमा छन् । विप्लवहरु शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले वार्ता र संवादबाट राजनीतिक समस्या समाधानको प्रयास गर्ने सहमतिका दुई वटा बुँदा कार्यान्वयनमा आइसकेका छन् । तर पक्राउ परेका नेकपाका कार्यकर्ता अहिलेसम्म छुटेका छैनन् । सहमतिपत्रको तेस्रो बुँदामा नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न तथा सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको भनिएको थियो ।

नेता–कार्यकर्ता छुटाउन विप्लव र प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ कहिले दिनहुँजसो कहिले दिन बिराएर बालुवाटारदेखि बालकोट हुँदै खुमलटारसम्मको चक्कर लगाइरहेका छन् । तर, विभिन्न अभियोगमा करिब तीन दर्जन नेता–कार्यकर्ता अहिले पनि जेलमा छन् ।

नेता–कार्यकर्ता छुटाउन विप्लव र प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ कहिले दिनहुँजसो कहिले दिन बिराएर बालुवाटारदेखि बालकोट हुँदै खुमलटारसम्मको चक्कर लगाइरहेका छन् । तर, विभिन्न अभियोगमा करिब तीन दर्जन नेता–कार्यकर्ता अहिले पनि जेलमा छन् ।

यी हुन् छुट्न बाँकी नेता तथा कार्यकर्ता

विप्लवका अधिकांश कार्यकर्ता पार्टी प्रतिबन्धको समयमा समातिएका थिए । विप्लव समूहले ललितपुरको नख्खुमा रहेको एनसेलको कार्यालय गेटमा बम विस्फोट गराउँदा सर्वसाधारणको मृत्यु भएपछि सरकारले प्रतिबन्ध लागउने निर्णय गरेको थियो । त्यसयता सयौंको संख्यामा समातिएका कार्यकर्ता धेरैजसो तत्काल छुटे पनि केहीमाथि भने मुद्दा चलाइएको थियो ।

अहिले जेलमा रहेका अधिकांश कार्यकर्तामाथि राज्यविरुद्धको अपराध र हातहतियार तथा खरखजनाको कसूरको मुद्दा लागेको छ । चार जनामाथि कर्तव्य ज्यानको अभियोग लागेको छ भने एकजना जन्मकैदको फैसलापछि थुनामा छन् ।

नुवाकोटको तारकेश्वर–२ का सूर्य भुजेल, भोजपुरको ट्याम्के मैयुं–१ का डेकेन्द्र राई, भोजपुरकै षडानन्द–९ का दोर्ची शेर्पा, सिन्धुपाल्चोकका रामकृष्ण खतिवडा, मेचीनगर झापाका शिव धिमाल र जुम्लाका जुम्ली उपनामले चिनिने वीरबहादुर कठायतमाथि राज्यविरुद्धको अपराधको अभियोग छ । उनीहरु सबै नख्खु कारागारमा छन् ।

शीर्ष नेताहरुबीचको मतभेद आपसी आरोप–प्रत्यारोप हुँदै पार्टीबाट निष्कासन गर्ने तहसम्म पुगेको छ । चुनाव उपयोग कि बहिष्कार भन्नेमा शीर्ष तहमा बढेको विवादले पार्टीमा माथिदेखि तलसम्मका नेता–कार्यकर्ता कित्ताकाटमा उत्रिएका छन् ।

त्यस्तै, केन्द्रीय कारागारमा रहेकी धनुषाकी इन्दल साहविरुद्ध पनि राज्यविरुद्धको अपराधको कसूरमा जिल्ला अदालत धनुषामा मुद्दा चलिरहेको छ । धनुषाकै मोहमद आदम कवारी र मोहमद सकिल कवारीविरुद्ध सोही अभियोगमा धनुषा जिल्ला अदालतमै मुद्दा चलाइएको छ । दुबैजना पूर्पक्षका लागि जिल्ला कारागार सिन्धुलीमा छन् ।

जिल्ला कारागार महोत्तरीमा रहेका धनुषाका गंगा मण्डल खत्वेमाथि पनि राज्यविरुद्धको अपराधको अभियोग लागेको छ । उनको मुद्दा धनुषा अदालतमा विचाराधीन छ । वेलगाड़ी–५, कञ्चनपुरका लक्ष्मण सेलारा जिल्ला कारागार कैलालीमा थुनामा छन् । उनीमाथि लागेको राज्यविरुद्धको अपराधको अभियोग कैलाली जिल्ला अदालतमा विचाराधीन छ।

त्यस्तै, धर्मदेव नगरपालिका–५, संखुवासभाका दिपक विष्ट, उदयपुरका सन्तोष तामाङ, क्षेत्रबहादुर तामाङ, अरुण मगर, मुस्कान राई, मणिराम राई मध्यक्षेत्रीय कारागार कार्यालय मकवानपुरमा थुनामा छन् । उनीहरुविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा उदयपुर जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । भीमफेदी कारागार कार्यालयमा रहेका राम राईमाथि पनि सोही अभियोग लागेको छ ।

विप्लवका अर्का कार्यकर्ता अनुषा भनेर चिनिने मुगुकी आशा रावत, तेह्रथुमकी कृषा लिम्बु र जुनुमाया कार्की विकविरुद्ध पनि हातहतियार तथा खरखजानाको कसूरमा मुद्दा चलिरहेको छ । उनीहरुलाई केन्द्रीय कारागारमा राखिएको छ । जुम्ला कारागारमा रहेका टंकराज जैसीविरुद्ध पनि जुम्ला जिल्ला अदालतमा सोही कसुरको मुद्दा छ भने मुगुका हरिकृष्ण दाहालमाथि आगलागीको अभियोगमा मुद्दा चलाइएको छ । उनी पनि जिल्ला कारागार जुम्लामा बन्दी छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारबाट राजनीतिक प्रतिबन्ध झेलेर २०७७ फागुन २१ गते उनै ओलीसँग तीन बुँदे सम्झौता गरेर उक्त पार्टीका महासचिव विप्लव प्रचण्डकै बाटोमा फर्किए ।

डीबी सिलवाल भनिने संखुवासभाका धनबहादुर विक र सिन्धुलीका रोहित ढकाल कर्तव्य ज्यानको अभियोगमा जेलमा छन् । सिलवाल मोरङ कारागारमा छन् भने ढकाललाई केन्द्रीय कारागारमा राखिएको छ । क्षेत्रीय कारागार कार्यालय, सुनसरीमा राखिएका भोजपुरका सुमित परियारविरुद्ध भोजपुर जिल्ला अदालतमा संगठित अपराधको मुद्दा विचाराधीन छ । त्यस्तै, कर्तव्य ज्यानको कसूरमा जाजरकोटका दीर्घबहादुर नेपाली, बलबहादुर मल्ल र कालिकोटका जंग बिक जेलमा छन् । उनीहरुलाई क्रमशः जिल्ला कारागार जाजरकोट, बाँके र कालिकोटमा राखिएको छ ।

राजद्रोहको अभियोग लागेका रोल्पाका वकिल घर्तिमगर पनि छुटेका छैनन् । उनलाई केन्द्रीय कारागारमा राखिएको छ । राज्यविरुद्धकै कसूरमा मुद्दा चलाइएका कालिकोटका दुर्गा बोहोरा र जाजरकोटका पदम पुन कालिकोट कारागारमा छन् । उनीहरु दुबैको मुद्दा जिल्ला अदालत कालिकोटमा विचाराधीन छ ।

सैनिक ऐन लगाएर सैनिक अदालतबाट जन्मकैदको फैसला सुनाइएका मोरङको ग्राम्थान गाउँपालिका–३ का झलबहादुर भगत मध्यक्षेत्रीय कारागार कार्यालय मकवानपुरमा छन् ।

टिप्पणीहरू