विमानस्थलमा कुन नम्बरमा ‘सलाम वालेकुम’ भनेर आतंकित बनाइयो ?
आज बिहान बम राखिएको हल्लासँगै काठमाडौंको आन्तरिक विमानस्थलको टर्मिनल भवन क्षेत्र केही बेर आतंकित बन्यो । अधिकांश यात्रुलाई बाहिर निकालेर डोमेष्टिक टर्मिनल भवनलाई रित्तो बनाइएको थियो । तर, एक घण्टा बढीको खोजतलासबाट त्यस्तो वस्तु फेला नपरेपछि विमानस्थल पुनः सुचारु भएको हो ।
आज बिहान आन्तरिक टर्मिनलभित्रको ल्याण्डलाइनमा पुरुष आवाजमा सलाम वालेकुम भनिएको थियो । फोन बिहान पौने १० बजेदेखि ९ बजेर ५१ मिनेटको समयमा आएको विमानस्थलका कर्मचारीले बताएका छन् ।
फोन गर्ने पुरुषले टर्मिनलभित्र सात वटा बम राखिएको र एक घण्टाभित्र बिस्फोट हुने चेतावनी दिएपछि एकाएक त्यहाँको वातावरण आतंकित भएको हो ।
चेतावनी त्रिभुवन विमानस्थलको फोन नम्बर ०१–४११३०३३ मा आएको बताइन्छ । त्यसपछि सुरक्षाकर्मीले टर्मिनल भवनलाई खाली गराएका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त क्षेत्रमा पटक पटक खोजतलास गर्दा पनि शंकास्पद वस्तु फेला नपरेपछि साढे ११ बजेदेखि आन्तरिक विमानस्थल सुचारु भएको हो ।
टिप्पणीहरू