नेपाल र जिम्बावेबीचको शृंखला बराबर

नेपाल र जिम्बावेबीचको शृंखला बराबर

जिम्बावे ‘ए’ लाई ८ विकेटले पराजित गर्दै नेपालले टी–२० शृंखला बराबरी गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बावेले दिएको १३७ रनको लक्ष्य १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै नेपालले जितेपछि शृंखला १–१ को बराबरीमा टुंगिएको हो ।

नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । उनले ५४ बलमा १३ चौका र एक छक्कासहित सर्वाधिक ८७ रनको अविजित इनिङ खेले । आसिफले अर्का ओपनर कुशल भुर्तेलसँग ८८ रनको साझेदारी गरेका थिए । कुशल ३४ रनमा आउट भए । उनले २६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । बासिर अहमद १० रनमा पेभेलियन फर्किए ।

जिम्बावे ए को वलिङमा ल्युक जोङवे र ब्रान्डन माभुताले समान एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनको योगफल तयार पार्यो ।

जिम्बावे ए का लागि चौथो नम्बरमा क्रिजमा आएका रोय कियाले सर्वाधिक ४९ रनको योगदान गरे । उनले ४१ बल खेल्दै ७ चौका प्रहार गरे । ओपनर टाडीवान्से मारुमानी २७ तथा अर्का ओपनर इनोसेन्ट किया १४ रन बनाएर पभेलियन फर्किएका थिए ।

कुडाजाई माउन्जे ६ रनमा आउट भए । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान टोनी मुयोङगा २ रनमा क्याच आउट भए । ल्युक जोङ्वे २३ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालको वलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए ।

आइतबारदेखि सुरु भएका टी–२० सिरिजमा नेपालले पहिलो खेल ६ विकेटले हारेको थियो । दोस्रोे खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए ।

तीन खेलको शृंखलामा आजको खेल नेपालले जितेपछि दुवै टोलीको समान तीन–तीन अंक भएसँगै शृंखला बराबरी भएको हो ।

जिम्बावे ए सँगको एकदिवसीय शृंखला शुक्रबारदेखि सुरु हुनेछ ।

टिप्पणीहरू