लमजुङमा आज भएको मतदानमा ७ भोट बदर
मतदाता शिक्षाअन्तर्गत बदर भोटको संख्या कम गराउने उद्देश्यले लमजुङमा नमूना मतदान गराइएको छ । जिल्ला निर्वाचन कार्यालयले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा बदर मत कम गर्ने उद्देश्यले आज नमूना मतदान कार्यक्रम गरेको हो ।
मतदानमा ३० जना सहभागी भए । जसमा ७ मत पूर्णरूपमा बदर हुँदा केही आंशिक बदर भएका थिए । यो कूल मतको २५ प्रतिशत हो । नमूना मतदानमा मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो ।
सदरमुकाम बेशीसहरको फूलबारीमा भएको मतदानमा आज बिहानैदेखि घुइँचो लागेको थियो । विगतका निर्वाचनमा जस्तो यस पटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदानप्रति सचेतना ल्याउन नमूना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् । उनले भनिन्, ‘गाउँ गाउँमा उम्मेदवारले नै मतदाता शिक्षाबारे जानकारी गराउनु पर्नेछ ।’
मतदानमा महिला, पुरुष, अशक्त र बृद्धबृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिन्हमा मत दिने तरिकासमेत सिकाइएको थियो । अहिले मतदाता शिक्षा कार्यक्रम नभएकाले राजनीतिक दलले यसलाई प्रभावकारी बनाउनुपर्ने लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
यसअघिको स्थानीय तह निर्वाचनमा लमजुङमा एक लाख २२ हजार आठ सय छ जना मतदाता थिए । त्यतिबेला एक हजार नौ भोट पूर्ण बदर भएको थियो । अहिले मतदाताको संख्या बढेर एक लाख ३१ हजार चार सय ९४ पुगेको छ ।
टिप्पणीहरू