‘सृजनाका आमाबुबाले बिहे गरेर प्रकाशमानको घरमा पठाइदिए त के गरून् विचरीले’
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट रेणु दाहाललाई मेयरको उम्मेदवार बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले सल्लाह दिएको बताउनुभएको छ ।
सत्ता गठबन्धनले आज काठमाडौंमा गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एक कार्यकाल राम्रो काम गरेकाले रेनुलाई नै दोहोर्याउन आफूले सल्लाह दिएको बताउनुभएको हो । रेणुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने गरेको भन्दै देउवाले भन्नुभयो, ‘रेणुलाई टिकट नदिउँ भन्दै हुनुहुन्थ्यो प्रचण्डजी त १ तर, मैले राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले टिकट पाएकी हुन् ।’
प्रधनमन्त्री देउवाले काठमाडौँ महानगरमा काँग्रेसबाट मेयरको टिकट पाएकी सृजना सिंहबारे पनि भ्रम छरिएको भन्दै असन्तुष्टी जनाउनुभयो । सृजनालाई मेयरमा उठाउँदा प्रकाशमान सिंह डराएको भन्दै उहाँले आफूले नै टिकट दिनुपर्छ भनेर अगाडि बढाएको बताउनुभयो ।
‘अब सृजनाका आमाबुबाले बिहे गरेर प्रकाशमानको घरमा पठाइदिए त के गरून् विचरीले ! प्रकाशमानको श्रीमतीलाई मेयरको टिकट दियो भनेर बखेडा झिकेर हुन्छ ?,’ उहाँले प्रश्न गर्नुभयो ।
काठमाडौं र भरतपुरमा महिलालाई उम्मेदवार बनाइएको भन्दै देउवाले हराउने काम नगर्न सबैमा अनुरोध पनि गर्नुभयो । ‘काठमाडौंमा सृजना सिंहलाई हरायो भने दुनियाँले के भन्छ ? चितवनमा रेणु दाहाललाई हरायो भने विश्वले के भन्छ ? त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ,’ उहाँको भनाइ छ ।
प्रधानमन्त्री देउवाले आफ्नै पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिएको भन्दै चर्को असन्तुष्टी पनि व्यक्त गर्नुभयो । ‘मलाई पार्टी सभापति बनाएर सर्वाधिकार दिएका छन् । केन्द्रीय सदस्यको बहुमतले पनि गठबन्धन गर्ने कुरामा सहमति जनाएको हो । अहिले किन गठबन्धन चाहिँदैन भनिरहेका छन् । हाम्रै साथीहरूले बखेडा झिकिरहेका छन्,’ उहाँले भन्नुभयो ।
आफ्नो मन नहुँदा नहुँदै प्रधानमन्त्री बनाइएको स्मरण गराउँदै अहिले आएर धेरै निहुँ खोज्ने काम भइरहेकोमा उहाँले आपत्ति प्रकट गर्नुभयो । अहिलेको अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनअनुसार नै अगाडि बढ्नुपर्ने उहाँको धारणा छ ।
टिप्पणीहरू