जनयुद्ध दिवसको दिन बहुमतको महाधिवेशन
नेत्रविक्रम चन्द विप्लवलाई महासचिवबाट निष्काशनको कारवाही गरेको नेकपाको असन्तुष्ट खेमाले पार्टी पुनर्गठन गरेको छ । नेताद्वय धर्मेन्द्र बाँस्तोला कञ्चन र हेमन्तप्रकाश वली सुदर्शनपक्षीय नेताहरुको चितवनको पर्सामा तीन दिनसम्म चलेको राष्ट्रिय भेलाले नेकपा (बहुमत) पार्टी गठन गरेको हो ।
भेलाले जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते महाधिवेशन गर्ने गरि नेता बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । साथै, विप्लवले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशालाई खारेज गरेर भेलाले ‘वैज्ञानिक समाजवादी क्रान्ति’ को कार्यदिशा अवलम्बन गर्ने निर्णय पनि गरेको छ ।
कपिलवस्तुमा हालै सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकमा चुनाव उपयोगको नीतिलाई लिएर फरक कित्तामा उभिएका नेता बाँस्तोला र वलीलाई विप्लवले कारवाही गरेपछि उक्त पार्टी विभाजनमा पुगेको हो । महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा चुनाव उपयोगको पक्षमा छन् भने विद्रोही खेमा त्यसविरुद्ध छ । कपिलवस्तु बैठकले चुनाव उपयोग र बहिष्कार दुवै नगर्ने नीति पास गरेको थियो ।
टिप्पणीहरू