हेटौँडामा गठबन्धन र एमाले : १–२ मतले अघि पछि हुन थाले

हेटौँडामा गठबन्धन र एमाले : १–२ मतले अघि पछि हुन थाले

स्थानीय तहबाट सरकारी खेमालाई असर पार्ने आँकलन गरिएको हेटौँडा उपमहानगरपालिकामा गठबन्धन र एमाले उम्मेदवार शुरुदेखि नै तीब्र प्रतिस्पर्धामा छन् । एमालेका अनन्त पौडेल र गठबन्धनका तर्फबाट मीनाकुमारी लामा (समाजवादी) को मतान्तर शुरुवाती गणनाबाटै बढीमा ५ अंकको फरक हुँदै अघि बढिरहेकोमा २५ सय मतको गणना सकिँदा मतान्तर १ मात्र छ । २५०० मत गन्दा गठबन्धनका लामा ७५४ र एमालेका पौडेलले ७५३ मत पाएका छन् । त्यसैगरी राप्रपाबाट मेयरका उम्मेदवार दीपकबहादुर सिंहले ६९२ मत ल्याएका छन् ।

गठबन्धनका उपमेयर राजेश बानियाँ र एमाले उम्मेदवार सुमित्रा काफ्लेबीच भने शुरुदेखि नै मतान्तर छ । काफ्लेलाई बानियाँले जित्दै अघि बढिरहेकी छन् । नेकपा एमाले फुटेर एकीकृत समाजवादी निर्माण भइसकेपछि बलियो बनेको हेटौँडा उपमहानगरपालिकको नेतृत्व काँग्रेसले नै पाउनुपर्ने भन्दै काँग्रेसजन आन्दोलित भएका थिए । असन्तुष्टिका बीच काँग्रेसजनले समाजवादीकी मेयर उम्मेदवार लामालाई समर्थन गरेर अघि बढेको छ । यद्यपि, अघिल्लो निर्वाचनमा पनि माओवादी–काँग्रेस गठबन्धन हुँदा एमालेका हरिबहादुर महतले ६१५ मतान्तरले गठबन्धनका उम्मेदवारलाई पराजित गरेको घटना हेटौँडामा छ । यसपटक बलिया उम्मेदवारका रुपमा राप्रपाका दीपकबहादुर सिंह आएर सक्रियता जनाउनुले पनि गठबन्धनको मत कटौती हुने अनुमानका साथ एमाले उत्साहित भएर अघि बढेको बताइन्छ ।

टिप्पणीहरू