सिंगो सुरक्षा संयन्त्र आज र भोलि लुम्बिनीमा सामेल

सिंगो सुरक्षा संयन्त्र आज र भोलि लुम्बिनीमा सामेल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि गर्न लाग्नुभएको लुम्बिनी भ्रमणको निम्ति सुरक्षादेखि मुलुकका सबै संयन्त्र हिजोदेखि भैरहवा र लुम्बिनीमा केन्द्रित भएको छ ।

सोही प्रयोजनको निम्ति प्रधानसेनापति प्रभुराम शर्मा आज सेनाको हेलिकप्टरमा त्यसतर्फ जान लाग्नुभएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु,राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत सुरक्षा संयन्त्रका उच्च अधिकारीहरु आज दिउँसो ३ बजे बुध्द एअरको उडानमा भैरहवा जाँदै हुनुहुन्छ ।

आजै दिउँसो परराष्ट्र मन्त्रालयका सचिवसहितको टोली पनि लुम्बिनी पुग्ने कार्यक्रम राखिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँण गत बुधबारदेखि भैरहवामा हुनुुहुन्छ । उहाँ स्थानीय तहको निर्वाचन सम्बन्धमा त्यता जानुभएको हो । भोलि भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणपछि मात्र राजधानी फर्कने कार्यक्रम रहेको बताइएको छ ।

आजै गृहसचिवको टोली पनि त्यसतर्फ जाने बुझिएको छ ।

प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतका विशिष्ट अधिकारीहरु भोलि बिहान नेपाल वायुसेवा निगमको न्यारोबडी विमानमा त्यसतर्फ जाने कार्यक्रम मिलाइएको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको त्यसपछि प्रधानमन्त्रीले उद्घाटन गर्नुहुनेछ ।

भारतीय प्रधानमन्त्री मोदी चढेको हेलिकप्टर बिहान पौने ११ बजे लुम्बिनीमा सोझै अवतरण गर्नेछ । उहाँ भारतको कुशीनगरबाट हेलिकप्टरमा आउन लाग्नुभएको हो ।

टिप्पणीहरू