निर्वाचन अधिकृतमाथि काँग्रेसका उम्मेदवार जिताउन धाँधली गरेको आरोप

निर्वाचन अधिकृतमाथि काँग्रेसका उम्मेदवार जिताउन धाँधली गरेको आरोप

रसुवाको कालिका गाउँपालिकाका निर्वाचन अधिकृत अशोकराज रेग्मीमाथि काँग्रेसका उम्मेदवार जिताउन षड्यन्त्र गरेको आरोप लागेको छ । गाउँपालिकाको ३ नम्बर वडाको गणनामा काँग्रेसका उम्मेदवारलाई भोट बढाएर जिताइदिएको भन्दै माओवादी केन्द्रका उम्मेदवारले पुनः मत गणनाको मागसमेत गरेका छन् ।

माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार रहेका पुष्पराज न्यौपानेले फेरी मत गणनाको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी हालेका छन् । उजुरीमा मतपत्र प्रष्ट नदेखाई गणना गरिएको साथै उम्मेदवारका प्रतिनिधि र गणक कर्मचारीबीचको गणनामा फरक परेको दाबी गरिएको छ ।माओवादी केन्द्रका जिल्ला अध्यक्ष मेघनाथ घिमिरे प्रभाकरले मतदान अधिकृतले निष्पक्ष भूमिका खेल्न नसकेको बताए । ‘२ भोटले हाम्रा उम्मेदवारले जितेका थिए, तर त्यसलाई उल्ट्याएर काँग्रेसलाई जिताइयो । मतदान अधिकृत नै निष्पक्ष भएनन्’, उनले भने । काँग्रेसका उम्मेदवारले हार स्वीकार गरेर घर गइसकेको अवस्थामा फेरी बोलाएर परिणाम घोषणा गरिएको उनको आरोप छ ।

यता, निर्वाचन अधिकृत रेग्मीले भने माओवादीको आरोप अस्वीकार गर्दै पुनः गणना नहुने बताए । उहाँहरुलाई देखाएर नै गणना गरिएको हो । अन्तिममा जोड्दा दुई भोटको फरक पर्यो । त्यसलाई उहाँहरुले मान्नुभएन’, उनले भने, ’फेरी गणना हुँदैन, चित्त नबुझे उहाँहरुलाई अदालत जाने बाटो खुला छ ।’

निवर्तमान वडाध्यक्षसमेत रहेका माओवादीका पुष्पराज र काँग्रेसका फणिन्द्र न्यौपानेबीच कडा प्रतिस्पर्धा रहेको थियो ।

टिप्पणीहरू