इन्धन अभाव हटाउन श्रीलंकाले भारतसँग ५० करोड डलर माग्यो

इन्धन अभाव हटाउन श्रीलंकाले भारतसँग ५० करोड डलर माग्यो

चरम आर्थिक संकटबाट मुक्त हुन श्रीलंकाले इन्धन आयातको निम्ति भन्दै भारतसँग ५० करोड अमेरिकी डलर ऋणको निम्ति अनुरोध गरेको छ ।

भारतका लागि श्रीलंकाका उच्चायुक्त मिलिन्दा मोरागोडाले गतसाता भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा उक्त ऋण सहयोगबारे अनुरोध गरेको बताइन्छ । यसअघि भारतले श्रीलंकालाई ५० करोड अमेरिकी डलरको सहयोग गरिसकेको छ ।

श्रीलंका मुलुक स्वतन्त्र भएपछिको सबैभन्दा खराब आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको छ । महामारीमा पर्यटन उद्योग खुम्चिँदा मुलुकको विदेशी मुद्राको सञ्चिति रित्तिएपछि श्रीलंकाले डलरको निम्ति अनुरोध गर्दै आएको हो ।

विदेशी मुद्राको अभावमा श्रीलंकामा इन्धन, औषधि र दैनिक उपभोग्यका सामाग्रीको चरम अभाव छ । भारतले अत्यावश्यक सामग्रीका लागि थप एक अर्ब अमेरिकी डलरको ऋण प्रस्ताव गरेको बताइन्छ ।

श्रीलंकाले डिजेल र पेट्रोलको निम्ति हालसम्म ७० करोड अमेरिकी डलर खर्च गरिसकेको छ । उक्त रकम पनि भारतबाट ऋणस्वरुप प्राप्त भएको थियो ।

उता श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले सामाजिक सञ्जालमार्फत् भारतीय सहयोगको प्रशंसा गर्दै भारतले गरेको सहयोगका लागि आभार व्यक्त गरेका छन् ।

टिप्पणीहरू