अब जथाभावी जहाज उडाउन नपाइने !
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा नभएसम्म आन्तरिक उडान गर्न नदिने निर्णय गरेको छ । तारा एअरको विमान दुर्घटनापछि प्राधिकरणले यस्तो निर्णय लिएको हो । उड्ने र पुग्ने स्थानको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
‘अबदेखि हामीले इनरुट मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरेका छौं,’ प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले भने । अहिलेसम्म प्राधिकरणले विमान उड्ने विमानस्थल र पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिँदै आएको थियो ।
अबदेखि भने इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको हो । इनरुट भन्नाले विमान उड्ने, पुग्ने स्थान र उडानको हवाईमार्ग समेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडान अनुमति नदिइने निर्णय प्राधिकरणले गरेको हो । यो निर्णयले हवाई दुर्घटना कम गर्न मद्धत मिल्ने कर्णको भनाइ छ ।
यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ । भिएफआर भन्नाले पाइलटले आँखाले हेरेर विमान उडाउने र ल्याण्ड गर्ने विधि हो । तर, आईएफआर (इन्स्ट्ुमेण्ट फ्ल्याइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु नहुने उनको भनाइ छ ।
अस्ति मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेसँगै प्राधिकरणले विमान उडानसम्बन्धी कडा नियम ल्याएको हो ।
टिप्पणीहरू