बानेश्वरबाट जीवनरामको सोधाइ : काठमाडौँ बनाउन के गर्नुपर्ने हो ?
एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले काठमाडौं देशको राजधानीजस्तो बन्न नसकेको गुनासो गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले राजधानी देशको अनुहार भए पनि सो अनुसार व्यवस्थापन हुन् नसकेकोमा गुनासो गर्नुभएको हो ।
देशकै अनुहार मानिने राजधानीको सुन्दरता, व्यवस्थापन, वातावरण नियालेर विदेशीले नेपालबारे मनस्थिति बनाउने भन्दै श्रेष्ठले भन्नुभयो, ‘काठमाडौंलाई राजधानी जस्तो बनाउन, राजधानीबाटै प्रधानमन्त्री बन्नुपर्ने हो कि ?, महत्वपूर्ण मन्त्री बन्नुपर्ने हो कि ? सरकारको ध्यान राजधानी बनाउन किन ध्यान जाँदैन ?’
काठमाडौंलाई बस्नयोग्य, हेर्न योग्य, घुम्न योग्य राजधानी बनाउनुपर्ने भन्दै उहाँले त्यसका लागि योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौंमा फ्लाइओभर, अन्डरपास बनाउने योजना कार्यान्वयन नभएको भन्दै सांसद श्रेष्ठले सम्पदा, संस्कृति र सभ्यताको सहर काठमाडौंको विकासलक्षित कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
टिप्पणीहरू