हिमालमाथिबाट आएका चिनियाँ पाहुना मध्यराती समुन्द्रतिर सोझिए
नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल हिजो मध्यरात फर्केको छ । विदेश विभाग प्रमुख लिउ चियन्छाओ नेतृत्वको आधा दर्जन सदस्य सहभागी टोली मध्यरात पौने १२ बजे सिंगापुरतिर लागेको हो ।
गत आइतबार नेपाल आउँदा एअर चाइनाको नियमित उडानबाट छेन्दु हुँदै काठमाडौं ओर्लेको उक्त टोलीले हिजो सिंगापुर एअरलाइन्सको जहाज पक्रेको अध्यागमन श्रोतले बतायो ।
त्यसअघि प्रतिनिधिमण्डल हिजो साँझदेखि चिनियाँ दूतावासमा आयोजित रात्रिभोजमा सहभागी भएको थियो । बालुवाटारस्थित दूतावासमा साँझ साढे ७ बजेदेखि भएको रात्रिभोज ९ बजेसम्म चलेको बताइन्छ । चिनियाँ दूतावास जानुअघि टोलीले भक्तपुर दरबार स्क्वायरमा एक घण्टा बिताएको थियो ।
हिजै बिहान साढे १० बजेदेखि सवा ११ बजेसम्म प्रमुख लिउलगायत टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गरेको थियो ।
आइतबारदेखि हिजो दिउँसोसम्म विभिन्न राजनीतिक दल,तिनका शीर्ष नेतासँग भेट गरेको प्रतिनिधिमण्डलको पछिल्लो भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।
टिप्पणीहरू