माओवादी कुटिएका हवल्दार अस्पतालपछि प्रहरी कार्यालयमा, आक्रमणकारीहरु झन् आक्रामक
माओवादी कार्यकर्ताबाट कुटिएका प्रहरी हवल्दार रामबहादुर बाँठा दुई दिनदेखि न्याय माग्दै जिल्ला प्रहरी कार्यालय रोल्पामा धाउँदा पनि उनको व्यथाको सुुनुवाइ भएको छैन ।
प्यूठानबाट बुटवल सरुवाको रमाना लिएर बिदामा घर जाँदै गरेका बाँठा मंगलवार बेलुकी रोल्पाको त्रिवेणी गाउँपालिका—७ का वडाध्यक्षमा पराजित माओवादी कार्यकर्ता खिम बाबुराजा डीसीलगायतको समूहको कुटाइबाट घाइते भएका थिए । चुनाव हारेको झोंकमा आक्रामक बनेका माओवादी कार्यकर्ताहरुले विनाकारण कुटेको भन्दै न्याय माग्न जिल्ला प्रहरी कार्यालयमा पुगेका हवल्दार बाँठाको दुइ दिनदेखि जाहेरी दर्ता समेत भएको छैन ।
कुटपिटबाट टाउको र शरीरमा चोट लागेका पीडितलाई मिलापत्र गर्न जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी विनोद घिमिरेले दबाब दिएको बताइन्छ । हिजो जाहेरी दिन जिप्रका पुगेका बाँठालाई डिएसपी घिमिरेले मिल्न दबाब दिएका हुन् । घिमिरेको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ, ‘गल्ती भएकाले मिल्नुपर्छ ।’ तर पीडित बाँठा आफू अन्यायमा परेको भन्दै ज्यान मार्ने उद्योगको जाहेरी नै दर्ता गर्नुपर्ने अडानमा छन् ।
दार्बाेट प्रहरी चौकीका हवल्दार फेरिए
घटनामा दार्बाेट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीको पनि संलग्नता रहेको पाइएपछि जिल्ला प्रहरी कार्यालय रोल्पाले चौधरीलाई जिप्रका तानेर त्यहाँ अर्का हवल्दारलाई खटाएको छ ।
घटनाको योजना बनाउनेदेखि घटनास्थल नजिकै पुगेर आक्रमणकारीहरुलाई अटो रिक्सामा ओसार्ने कार्यमा हवल्दार चौधरी सहभागी थिए । घटनापछि पनि चौधरीले पीडितलाई दार्बाेट चौकीमा राखेर मोबाइल र मोटरसाइकलको साँचो जफत गरी दुई घण्टासम्म चौकीमा थुनेर दुव्र्यवहार गरेको पीडितको भनाइ छ ।
अस्पतालमा परीक्षण गर्दा चौधरीले मादक पदार्थ सेवन गरेको प्रमाणित भएपछि उनको संलग्नता थप पुष्टी भएको हो । उक्त घटनामा स्थानीय डाक्टरको पनि संलग्नता रहेको बताइन्छ ।
माओवादी कार्यकर्तालाई बचाउन जिल्ला अस्पताल रोल्पाका डा. आधार वलीको पनि संलग्नता रहेको पाइएको हो । पीडित हवल्दार मंगलबार राति अस्पताल आउँदा डा. आधारले पीडितलाई उपचारको सट्टा रक्सी खाएर आएको प्रमाणित गर्ने रिपोर्ट लेख्न खोजेको आरोप छ । तर पीडितले आफूले रक्सी नखाएको बताउँदै उक्त अस्प्ताल र चिकित्सकसँग उपचार नगर्ने बताएपछि डा. आधार गलत रिपोर्ट लेख्नबाट पछि हटेका थिए । सुरुमा परीक्षण गर्ने क्रममा बाँठाले मादक पदार्थ सेवन गरेको पुष्टी भएको बताएका डा. आधारले पछि ‘नेगेटिभ’ लेखेको बताइन्छ ।
माओवादी नेतासमेत रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्य ‘क्षितिज’ को आदेशमा डा. आधारले आफ्नो पेशा नै धरापमा राखेर उक्त हर्कत गरेको हुनसक्ने उनका सहकर्मीहरुको आकलन छ ।
यता घटनामा संलग्न आफ्ना कार्यकर्ताहरुलाई बचाउन माओवादी नेताहरु हात धोएर लागेको देखिन्छ । माओवादी नेता वर्षमान पुन र दिपेन्द्र पुनले डिएसपीलाई दबाब दिँदै डिसीलगायतलाई जोगाउन आग्रह गरेका हुन् । उनीहरुले माओवादीका जिल्ला नेता फविन्द्र आचार्य ‘क्षितिज’ लाई यसको जिम्मा दिएको बताइन्छ ।
हिजो जिल्ला प्रहरी कार्यालय पुगेर क्षितिजले उक्त मुद्दा माओवादीसँग जोडिएकाले मुद्दा लड्न परे पार्टी लड्ने भन्दै धम्कीपूर्ण भाषा बोलेको स्रोतको दाबी छ । त्यसपछि प्रहरीले मुद्दा दर्ता गर्न थप अस्वीकार गरेको अनुमान पीडित पक्षले गरेको छ ।
तर डिएसपी घिमिरेले दुवै पक्षको तर्फबाट परेका चार वटै उजुरी दर्ता भएको जानकारी दिए । उनले भने,‘दुवै पक्षले दिएको उजुरी दर्ता गरेका छौं । छलफलको निम्ति बोलाएका छौं । उजुरमा उहाँहरुको आफ्नै खालको तर्क र भनाइ छ । पहिले छलफल गराउँछौं, अन्यथा कानुनबमोजिम अघि बढ्नेछौं ।’
आक्रमणकारी डिसीले आफूलाई बाँठाले सरकारी कर्मचारी हुँदाहुँदै पनि निर्वाचनमा पराजित भएपछि ‘हरुवा’ भनेको व्यहोरा उल्लेख गरेर प्रहरीमा उजुरी दिएको बुझिएको छ । अरु दुई जनाले उल्टै हवल्दारले आफूहरुमाथि दुव्र्यवहार गरेको आरोप लगाउने निवेदन दर्ता गराएका हुन् ।
टिप्पणीहरू