सङ्घीय सरकारविरुद्ध आन्दोलन गर्ने प्रदेश सरकारको घोषणा

सङ्घीय सरकारविरुद्ध आन्दोलन गर्ने प्रदेश सरकारको घोषणा

प्रहरी समायोजनामा संघीय सरकारले कुनै चासो नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बुधवार बिहान प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरेर संघीय सरकारको विभेदपूर्ण रवैयाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

आन्दोलनको कार्यक्रममा साउन २२ गते सबै प्रदेशसभा सदस्य र सबै मन्त्रीहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई सात दिनको अल्टिमेटम राखेर ज्ञापन पत्र बुझाउने भनिएको छ । यदि सरकारले अझै पनि बेवास्ता गरेको खण्डमा थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने मन्त्री साहको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साहले प्रदेश प्रहरी समायोजनको लागी प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँडसहित गठबन्धनका शीर्ष नेताहरू गम्भीर नदेखिएको आरोपसमेत लगाए । उनले सबै शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाए पनि प्रहरी समायोजनमा सङ्घीय सरकार गम्भीर नदेखिएकाले चरणबद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको जानकारी दिए ।

सङ्घीय सरकार मधेस प्रदेशको शान्ति सुरक्षामा संवेदनशील नदेखिएको पनि मन्त्री साहको भनाइ छ । आफूहरुको आन्दोलनमा अन्य प्रदेशहरूका पनि सहयोग र समर्थन रहने उनले बताए । एक प्रश्नमा मन्त्री साहले भने,‘ संघीयताको जन्ननी मधेश प्रदेश हो । त्यसकारण पूर्ण संघीयता कार्यान्वय गर्न प्रदेशका सबै राजनीतिक दल र जनता एक जुट रहेका छन् । अब हुने आन्दोलनमा जनताको पनि समर्थन रहनेछ ।’

प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाए पनि संघीय सरकारका कारण कार्यान्वयनमा आउन नसकेको भन्दै प्रदेशका मुख्यमन्त्री, मन्त्रीलगायतले असन्तुष्टी जनाउँदै आएका छन्।

टिप्पणीहरू