सत्ताको खेलमा छिर्नेबित्तिक्कै सीके राउतमा वितृष्णा
जनमत पार्टीका अध्यक्ष तथा सप्तरीका सभासद सीके राउतले संसदीय राजनीतिको पहिलो गाँसमै आफूमा वितृष्णा जागेको बताएका छन् । हिजो दिउँसो बालकोट र साँझ शीतल निवास छिरेर फर्केका उनले सत्ताको पहिलो क्लासमै आफूमा वितृष्णा जागेको उल्लेख गरेका हुन् ।
ओशो तपोवनका भक्त राउतले बालकोट र शीतल निवासमा पुग्दा देखेका राजनीतिक लेनदेन र जोड घटाउतर्फ संकेत गर्दैै सामाजिक सञ्जालमा उक्त टिप्पणी गरेको बुझिन्छ । एमालेलगायत सात राजनीतिक दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न आफ्ना सांसदको दस्तखतसहितको सूची बोकेर बालकोट पुगेका राउतले सत्ताको पहिलो क्लासमा देखिएको राजनीतिक परिदृश्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘सत्ताको पहिलो क्लास आज–पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होलाजस्तो लागेको थिएन । बस् म त सुनिरहेँ ।’ उनले दिउँसो बालकोट छिर्ने क्रममा सञ्चारकर्मीहरुसँग ‘प्रचण्डले बोलाउनुभएकाले आएको’ प्रतिक्रिया दिएका थिए ।
ओशोको पोशाक र माला लगाएको फोटो पोष्ट गर्दै उनले सामाजिक सञ्जालमा वितृष्णा जागे पनि आफ्नो काँधमा लाखौं जनताको अपेक्षा रहेको उल्लेख गरेका छन् । ‘काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थेँ होला,’उनले लेखेका छन् ।
राजनीतिमा लाग्नैपर्ने बाध्यता पनि उनले प्रष्ट पारेका छन् । आफैँ जलेर,कालो खरानी बने पनि उज्यालो पार्नुपर्ने बाध्यतालाई उनले राजनीतिक बाध्यताको रुपमा बुझेको बताएका हुन् । त्यसलाई उनले आफ्नो नियतिसँग दाँजेका छन् ।
टिप्पणीहरू