क्रिसमसमा नियुक्ति,माओजयन्तीमा शपथ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह प्रधानमन्त्री पदको शपथग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई हिजो साँझ एमालेलगायत सात राजनीतिक दलको समर्थनमा मुलुकको ४४ औं प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । हिजो इसाई धर्मावलम्बीहरुको चाड क्रिसमस थियोे । यसैले नेपालमा पनि हिजो सार्वजनिक बिदा दिइयो । माओवादी अध्यक्ष प्रचण्ड हिजैका दिन तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
आज १३० औं माओजयन्ती हो । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङको नाममा प्रचण्डको पार्टीको नामसमेत नेकपा माओवादी केन्द्र राखिएको छ । आजैका दिन उहाँले प्रधानमन्त्री पदको शपथग्रहण गर्दै हुनुहुन्छ ।
यता राजधानीमा आज धेरै वटा कम्युनिष्ट पार्टीले माओजयन्ती मनाउँदैछन् । संसदीय राजनीतिबाट बाहिर रहेका ती दलले विविध कार्यक्रम आयोजना गर्न लागेका हुन् । नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (मशाल) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले दिउँसो १२ बजे राष्ट्रिय नाचघर, जमलमा माओजयन्ती मनाउन लागेका छन् ।
त्यसैगरी विप्लव समूहले साढे ११ बजे रत्नपार्कमा सोही अवसरमा विशेष सभाको कार्यक्रम राखेको छ भने नेकपा (माओवादी) ले माओ दिवसको अवसरमा चियापान तथा माओको फोटोमा पुष्पाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको बताए पनि स्थान र समय तोकेको छैन ।
टिप्पणीहरू