‘इन्द्रेणी कम्प्लेक्स’ बिस्फोट गराउन खोज्ने व्यक्ति पक्राउ

‘इन्द्रेणी कम्प्लेक्स’ बिस्फोट गराउन खोज्ने व्यक्ति पक्राउ

आजभन्दा ११ वर्षअघि बिस्फोटक पदार्थ राखेर भागेका एक जना व्यक्ति पक्राउ परेका छन् । २०६८ बैशाख १३ गते दिउँसो साढे १२ बजेको समयमा नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको पार्किङमा बिस्फोटक पदार्थ राखेर कम्प्लेक्सका सञ्चालकसँग फिरौती रकम मागेका ती व्यक्ति हिजो समातिएका हुन् ।

फिरौती रकम नदिए कम्प्लेक्स र घर दुबै ध्वस्त बनाइदिने धम्की दिएका ललितपुरका महेश केसी खत्रीलाई प्रहरीले ललितपुरको गोदावरीबाट नियन्त्रणमा लिएको हो । फिरौती रकम नपाएपछि अन्य व्यक्तिसमेतको समूह बनाएर ‘इन्द्रेणी कम्प्लेक्स’ को तल्लो बेसमेन्ट पार्किङ्गमा बिष्फोटक पदार्थ राखेका थिए ।

त्यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बिष्फोटक पदार्थलाई निस्क्रिय बनाएको थियो । प्रहरी वृत्त नयाँ बानेश्वरले घटनाको सम्बन्धमा ‘विष्फोटक पदार्थ ऐन’ कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गर्दै आइरहेको बताइन्छ ।

सोही मितिबाट फरार रहेका व्यक्तिहरुको पहिचान तथा खोजतलास गर्ने क्रममा प्रतिवादीमध्येका महेश के.सी. खत्रीलाई मिति हिजो साँझ जिल्ला प्रहरी परिसर ललितपुरसमेतको समन्वयमा गोदावारी १० मा उनलाई पक्राउ गरिएको हो । ३३ वर्षे खत्रीसँगै एक थान मोबाइल, सीम कार्ड २, नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र आवेदन फारमको फोटोकपी समेत बरामद भएको जनाइएको छ ।

खत्रीमाथि विष्फोटक पदार्थ ऐन कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेपछि प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू