कम्युनिष्ट नेताहरुको खतरनाक झेल, संसदीय व्यवस्थालाई बताउँदैछन् फेल
सर्वहारा श्रमिकहरुको पक्षमा राजनीति गर्दै समाजवादसम्म पुग्ने लक्ष्य राख्ने नेपालका कम्युनिष्टहरु भने अचम्मैका देखिन्छन् । नेपालमा जुट्नभन्दा फुट्न बढी जानेका कम्युनिष्ट पार्टीहरु र तिनका नेताले संसदीय व्यवस्था असफल भएको भन्दै त्यसविरुद्ध राजनीतिक धु्रवीकरणलाई तीव्रता दिने निर्णय गरेका छन् ।
चार कम्युनिष्ट घटकको हिजो बसेको बैठकले उक्त निष्कर्ष निकालेको बताइन्छ । बैठकमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा समाजवादी माओवादीले पार्टी एकताको पहल गर्दै उक्त निश्कर्ष निकालेका हुन् । ती दलले संसदवाद असफल भएको दाबी गरे पनि स्पष्ट विकल्प भने सुझाएका छैनन् ।
‘नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ,’ बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।
बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा बसेको थियो हो । संसारका धेरैजसो मुलुकमा पछिल्लो समयमा संसदीय प्रणालीलाई अभ्यासमा ल्याइएको छ । केही मुलुकमा अधिनायकवादी र निरकुंश व्यवस्था पनि राम्रैसँग प्रयोगमा छन् । यी दुई व्यवस्थामध्ये साम्राज्यवादी, उपनिवेशवादी र पूँजीवादीहरुले संसदीय व्यवस्थालाई अब्बल ठान्ने गरेका छन् । कम्युनिष्टहरुले कम्युनिष्ट सिद्धान्तमा आधारित समाजवादउन्मुख पुँजीवादी व्यवस्थालाई अभ्यासमा ल्याएका छन् । यसलाई नयाँ जनवाद, नौलो जनवाद, बहुदलीय जनवाद जस्ता विभिन्न नामका पगरी गुथाएर आपूm अनुकूलका भाष्य खडा गरिएको पाइन्छ ।
नेपालका केही कम्युनिष्ट पार्टी र तिनका नेताहरु वस्तुनिष्ठ भएर कुनै पनि समस्याको विश्लेषण गर्न अघि सर्नुभन्दा संसदीय व्यवस्था असफल भएका निष्कर्षमा पुगेका छन् । यसले कम्युनिष्टहरु कुर्सीको लोभलाई नाङ्गो तवरले छोप्न अघि सरे जस्तै देखिएका छन् । पटक पटकका घटनाक्रमले उक्त अवस्थाको पुष्टि हुँदै आएको छ ।
सिद्धान्त र विचारका भन्दा पदका निम्ति नेपालका कम्युनिष्ट पार्टीहरु बारम्बार विभाजित हुँदै आएका छन् । तसर्थ कम्युनिष्ट नेताहरुले आफ्ना कमजोरी अरुको थाप्लोमाथि हाल्ने यस्तो काइदाले गंगा उल्टो फर्काउने अभ्यास गर्न अघि सरेका देखिन्छन् ।
बैठकमा संसदीय व्यवस्था असफल भनेपछि त्यसविरुद्ध कस्तो व्यवस्थाको अभ्यास गर्ने भन्ने विषयमा नेताहरु अहिले पनि प्रस्ट छैननन् । जनताप्रति अनुदार र अनुत्तरदायी कुनै दल वा नेताहरु धेरै टिक्न सक्दैनन् । अहिलेको अवस्थामा नेपालीहरु राजनीतिक साक्षरताले ओतप्रोत छन् । यस्तो बेलामा संसदीय व्यवस्थाविरुद्ध कस्तो व्यवस्था लागु गर्ने भन्ने प्रश्न अहम् हुन्छ । त्यसको चित्तबुझ्दो उत्तर ती कम्युनिष्ट नेताहरुले जनतालाई दिनुपर्ने हुन्छ । त्यसबारे बैठकमा छलफल नहुनु अर्को आश्चर्य हो ।
बैठकमा सहभागी साना कम्युनिष्ट घटकहरुले संसदवाद असफल भएको दाबी गर्दै कम्युनिष्ट धु्रवीकरणको गफ हाँक्दै गर्दा आफ्नो कार्यशैलीबारे आत्मसमीक्षा वा आलोचना भने गरेका छैनन् । वस्तुनिष्ठ भएर मुलुकको राजनीतिका विभिन्न पक्षको विश्लेषण गर्ने हो भने नेपालमा संसदीय व्यवस्था असफल भएको होइन, संसदीय व्यवस्थामा दलको नेतृत्व गर्ने नेता र व्यक्ति मनोगत कार्यशैलीको कारण असफल भएका हुन् । यस्ता नेताले दलको घोषित सिद्धान्त, नीति र आदर्शमा भन्दा आफूलाई सबैभन्दा माथि राख्ने कार्यशैलीले संसदीय व्यवस्था बदनाम भएको हो । तर यसबारे वैज्ञानिक समाजवादको कुरा गर्ने कम्युनिष्ट नेताहरुले कुनै माथापच्ची गरेका छैनन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्माण र विभाजनमा देखिएका अन्तर्निहित कारणहरु विश्लेषण गर्दा पार्टीमा पद, सत्तामा प्रधानमन्त्री र मन्त्री जस्ता पदहरु नैं नेताहरुको सर्वाधिक चासोका विषय बन्ने गरेका छन् । व्यक्तिगत स्वार्थका अघि पार्टीको विचार र सिद्धान्तलाई धोती लगाएको देखिन्छ भने देश र जनतालाई केन्द्रविन्दूमा राखेर कम्युनिष्ट पार्टी धेरै कम विभाजित भएका छन् । त्यसैले अहिलेकोे यो निष्कर्ष कम्युनिष्ट विचारलाई धराशायी बनाउने र जसरी पनि सत्ताका डुबिरहने पूँजीवादी चिन्तनकै नयाँ संस्करण देखिन्छ ।
कम्युनिष्ट नेताहरुले आफ्नो कुर्ची मोहलाई लुकाउन पार्टी फुटाएर अध्यक्ष र महासचिव बन्ने होड नत्यागेसम्म कम्युनिष्ट धु्रवीकरणको नारा कुरामै सीमित हुने देखिन्छ । अरु त अरु पद नपाएपछि पार्टी फुटाएर महासचिव हुनेहरुले धु्रवीकरण गर्दा एक मात्रै महासचिव सकार्ने अवस्था पनि देखिँदैन ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एउटै धु्रवीकरणमा पुग्दा पार्टीमा दुई अध्यक्ष हुने व्यवस्था फलिफाप हुन सकेन । अहिलेको धु्रवीकरण राँडो रुवाई भन्दा अर्थोक केही सावित नहुने खतरा पनि उत्तिकै छ । कम्युनिष्ट पार्टी मिल्दै जाँदा नेता हुने अवसर कम प्राप्त हुने खतरा हुन्छ भने यसले व्यक्तिगत रुपमा नेतालाई नै घाटा हुन्छ । यस्तो बुझ्ने कम्युनिष्ट नेताहरुले संसदीय व्यवस्था असफल भएको निष्कर्षसहित कम्युनिष्ट धु्रवीकरणको कुरा गर्नु आफैंमा मजाक हुन सक्छ ।
टिप्पणीहरू