बाग्मती किनारको प्रदर्शनमा मार्सी पनि मिसिए

बाग्मती किनारको प्रदर्शनमा मार्सी पनि मिसिए

लघुवित्त संस्थाविरुद्ध आन्दोलन गर्न मुलुकभरबाट राजधानी आएका प्रदर्शनकारीको एक समूहले आज बागमती नदी किनारमा प्रदर्शन गरेका छन् । सानेपासँगैको बागमती करिडोरमा भेला भएर विभिन्न नारा अंकित प्लेकार्ड बोकेका प्रदर्शनकारीको समूह नाराबाजी गर्दै माइतीघर पुगेको छ ।

लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिको आयोजनामा भएको कार्यक्रममा लघुवित्त संस्थाहरूको ज्यादती भन्दै विरोध गरिएको छ । उक्त संस्थाका सदस्य सचिव रमेश तामाङको नेतृत्वमा कोशी प्रदेशका अध्यक्ष सुशीला थापालगायत सयौंको संख्यामा उपस्थितले प्लेकार्ड बोकेर चर्का नारा लगाएका छन् ।

सानेपा नजिकैको बागमती किनारबाट टेकू, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा पुगेर कोणसभा गर्ने जनाइएको छ । प्रदर्शनकारीले ’समाजवादी अर्थतन्त्रको विकास गर’ ’आम गरिव किसानहरूलाई निःशुल्क ऋण प्रदान गर’, ’नवसामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर’, ’आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर’, लेखिएका प्लेकार्ड बोकेका छन् । 

उक्त प्रदर्शनमा बैंकबाट अर्बौं ऋण लिएर फिर्ता नगरेको आरोप लागिरहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं उर्फ मार्सी पनि मिसिएका छन् । गत महिनासम्म नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका उनी केही समययता पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर ‘ऋण मोचन’ को सस्तो अभियान चलाइरहेका छन् ।

टिप्पणीहरू