नेपाल–पाकिस्तान मैत्री टी–२० का विजेतालाई पुरस्कार वितरण

नेपाल–पाकिस्तान मैत्री टी–२० का विजेतालाई पुरस्कार वितरण

काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘नेपाल–पाकिस्तान मैत्री टी-२० क्रिकेट प्रतियोगिता–२०२३’ का विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेको छ । 

दूतावासमा हिजो आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले ‘हिमालय शमशेर राणा ट्रफी’ प्रदान गरे । सो अवसरमा उनले पाकिस्तानी दूतावासको प्रंशसासमेत गरेका थिए । 

खेलकुदमा भएको सहकार्यले दुई देशबीचको द्धिपक्षीय सम्बन्धलाई मजबुत बनाउने उल्लेख गर्दै उनले नेपाली युवालाई खेलकुदतर्फ प्रोत्साहन गर्न सघाउ पुर्याउने बताए । 

त्यस्तै, नेपालका लागि पाकिस्तानी राजदूत उमैर अलीले यस्ता प्रतियोगिता दुई देशबीच पारस्परिक सम्बन्ध बढाउने एउटा खुड्किलो भएको बताएका थिए । उनले दुई देशका युवाहरुलाई एकताबद्ध बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले विशेष आतिथ्यता जनाएको कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीसहित अन्य कूटनीतिक नियोगका पदाधिकारीहरुको सहभागिता थियो । त्यस्तै, श्रीलंकाका कार्यवाहक राजदूत, बंगलादेशका र कतारका मिसन उपप्रमुख पनि कार्यक्रममा उपस्थित थिए । 

प्रतियोगिताको आठौं संस्करण गत फागुन २६ गतेदेखि शुरु भएको थियो ।  पाकिस्तानले हरेक वर्ष आयोजना गर्दै आएको सो प्रतियोगितामा १२ क्रिकेट टोलीको सहभागिता थियो । जमध्ये काठमाडौंस्थित पल्सर क्रिकेट एक्सेलेन्स सेन्टरले प्रतियोगिताको उपाधि जितेको छ भने दूतावासको पाकिस्तानी टोली उपविजेता बनेको छ ।

 

टिप्पणीहरू