चौधरीका अध्यक्षलाई ठेलेर कसले पुर्‍यायो बालुवाटार ?

चौधरीका अध्यक्षलाई ठेलेर कसले पुर्‍यायो बालुवाटार ?

वाइवाइ चाउचाउका साहुजी विनोद चौधरीले नेपाली कांग्रेस सम्मिलित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा मन्त्री बन्न गत हिउँदमा निकै दौडधुप गरे । पाए अर्थ, नपाए परराष्ट्र र त्यो पनि नभए उद्योग वा आपूर्ति मन्त्रालय भन्दै चप्पल कारखाना र बालुवाटार धाएको धायै थिए । तर, अन्त्यमा एउटा व्यापारीलाई सांसद पद नै ठूलो भन्दै उनलाई मन्त्री पद ‘बोकाको मुखमा कुभिण्डो’ हुन पुग्यो ।

त्यसपछि चौधरी पहिलेभन्दा धेरै नयाँ दिल्ली, मुम्बई, कलकत्ता, कोलम्बो, दुबई आउजाउ गरिरहेका छन् । व्यापार बढाउने, उताको रकम उतै थन्काउने काममा सक्रिय रहेको मौकामा उनी नजिक भनिएकाहरूले भने काठमाडौंमा छिर्के हानेको पोल खुलेको छ । राष्ट्र बैंकको रिक्त सञ्चालक पदमा उनका थोरै विश्वासपात्रमध्ये एक जनालाई अरुले नै सिफारिस गरेको तथ्य वैशाखको तेस्रो साता मात्रै खुलेको हो । युनाइटेड फाइनान्समा हुँदादेखिका विश्वासिला उपेन्द्र पौडेललाई चौधरीले नेपाल बंगलादेश बैंकसँग मर्ज गर्नुअघि नबिलको अध्यक्ष बनाएका थिए । मर्जरपछि एनबीका ज्ञानेन्द्र ढुंगानालाई सिईओ बनाउनैपर्ने बाध्यतामा थिए, सोहीबमोजिम गरे पनि ।

सामान्यतयाः चार वर्षको कार्यकाल हुने सिईओ पदलाई चौधरीकै कारण गत असारदेखि आगामी असारसम्म मात्र कायम गरियो । तर, ढुंगानाको लगातारको अनुनयपछि डलर अर्बपति २०८१ असारसम्म मात्र कायम गर्न सहमत भएको बुझिएको छ । नबिल सञ्चालक समितिको एक वर्षको अवधिमा पौडेलले रवि भवनको निर्देशनलाई सतप्रतिशत लागू गर्न थालेपछि सिईओलगायत वरिष्ठ हाकिमहरू चिन्तित र ‘फ्रस्टेटेड’ भएको गाईंगुईं चैतदेखि नै चलेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा र आरजू भाउजूसँग राम्रै राजनीतिक सम्बन्ध भएका ढुंगानाले यसबीच केन्द्रीय बैंकको सञ्चालकमा उनै पौडेलको व्यवस्थापन गरिदिँदा लठ्ठी नभाँचिने र साँप पनि मर्ने जुक्ति निकालेपछि उनलाई सञ्चालकको दौडमा सामेल गरियो । तर, क्याबिनेटले राष्ट्र बैंककै भूतपूर्व कार्यकारी निर्देशक रवीन्द्र पाण्डेलाई नियुक्त गरिदियो । 

त्यसअघि उपेन्द्रसँग पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि दौडमा रहेको खबरलाई नबिलतिरबाटै व्यापक बनाइयो । उपेन्द्रलाई बालुवाटारतिर ठेलिदिँदा मैदान खाली हुने नबिलका हाकिमहरूको योजनामा रवि भवनको ‘ग्रिन सिग्नल’ नआएपछि चप्पल कारखाना र प्रधानमन्त्री निवासले खासै पहल नगरेको सहजै बुझ्न सकिन्छ । दुई साता अघिसम्म केन्द्रीय बैंकको सञ्चालकमा उपेन्द्र जत्तिको योग्य उम्मेदवार अरु नभएको हल्ला एलिट बैंकरहरूबीच निकै चलाइएको थियो । तर, सरकारको निर्णयमा त्यसको छायाँ देखिएन । जबकि २०७८ चैतमा गभर्नर महाप्रसाद अधिकारीलाई पदच्युत गरेर उनै चौधरीले ढुंगानालाई लैजान खोजेको हल्ला पनि नबिलबाटै छरपष्ट भएको थियो । भलै उक्त कार्य तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए ।

यो पनि...

1.  चौधरीले संगीतालाई यस्तरी च्यापे

2. प्रधानमन्त्रीसामु मन्त्री र विनोद चौधरीका बाउछोरासँगै प्रकट

3.  अर्बपतिकी बुहारी माग्ने, ससुरा र श्रीमान लुकाउने


 

टिप्पणीहरू