सर्वोच्च अदालतको आदेशले मुख्यमन्त्री नियुक्त भएको तीन सातामै पदमुक्त भएका नेपाली काँग्रेस कोशीका नेता उद्धव थापाले पुनः सरकारको नेतृत्व दाबी गरेका छन् ।
सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत सांसदको हस्ताक्षर जुटाएर उनले आज साँझ प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । निर्णायक मतका लागि माओवादीबाट सभामुख भएका बाबुराम गौतमले पद त्यागेपछि उनको सहित काँग्रेस, माओवादी र एकीकृत समाजवादीका ४७ सांसदले थापाको पक्षमा हस्ताक्षर गरेका छन् ।
यसअघि असार २१ गते बहालरत सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थापालाई प्रदेश प्रमुख खापुङले नियुक्त गरिदिएका थिए । तर, तटस्थ भूमिकामा रहनुपर्ने सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्त भएको भन्दै त्यसविरुद्ध एमाले नेता हिक्मत कार्की रिट लिएर सर्वोच्च पुगेका थिए ।
उक्त रिटमा सर्वोच्चले मुख्यमन्त्री नियुक्तिको सम्पूर्ण प्रक्रिया नै बदर गरिदिएपछि प्रदेश प्रमुखले आज साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका थिए । सोहीबमोजिम केन्द्रीय गठबन्धनको निर्देशनमा सभामुखको राजीनामा गराएर काँग्रेस–माओवादी गठबन्धनले सरकार बनाउन लागेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ मत चाहिन्छ । सत्ता सहकार्यमा रहेका काँग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको पहिले जम्मा ४६ मत थियो । एमाले र राप्रपाको पनि सोही संख्यामा सांसद छन् । जसकारण कोशीमा सरकार गठन प्रक्रिया पेचिलो बनेको हो ।