नांगिएकालाई कुरीकुरी भन्न नपाउने हामीले ?

नांगिएकालाई कुरीकुरी भन्न नपाउने हामीले ?
सुन्नुहोस्

१३ वर्षदेखि निजामती सेवामै छु । नजिकबाट निजामती सेवा, कर्मचारी ट्रेड युनियनलाई छामेको छु । हाम्रो निजामती प्रशासनलाई राजनीतिले नांगो पारेको छ । यसैको  एउटा उदाहरण पस्कँदैछु, १० बुँदे नारा लेखिएको टिसर्ट लगाएर महिनौंदखि सिंदहरबार छिरी सचिव र मन्त्रीहरूलाई भेटिरहेकै थिएँ । तर महिना दिनपछि साउन ३० मा बल्ल मेरो टिसर्टमा प्रहरीको आँखा पर्‍यो । एउटा राष्ट्रसेवकलाई सिंहदरबारको गेटमा रोकियो र भनियो– यो टिसर्ट लगाएर भित्र छिर्न पाउनुहुन्न । लुगा लगाएर सिंहदरबार छिर्न रोक लगाएपछि लुगा खोलें र नांगै प्रवेश गर्न खोजें । प्रहरीले पक्राउ गरेर सात घण्टा थुन्यो । दलनिकट संगठनबाट पार लागेन, त्यही कारण निजामती सेवा बचाउनका लागि स्वतन्त्र अभियान चलाउँदा ट्रेड युनियनका नेताहरूको आँखाको तारो बन्न पुगेको छु । त्यही कारण हो मलाई पक्राउ गरिएको । 

नाताले १३ दिने दाजुभाइ हुन् भोला पोखरेल, उनी मेरा भतिज । उमेरले म निकै सानो छु उनीभन्दा । जन्मिएँ ०४५ सालमा, परिवारको साइलो छोरा । एक जना दाजुबाहेक सबै सरकारी सेवामै रमाइरहेका छौँ । दाजु गोविन्द लेखापढी कानुन व्यवसायी, अर्काे दाजु रामचन्द्र उच्च अदालत पाटनमा कार्यरत । भाइ रमेश साँखु मालपोत र अर्का भाइ रविन धादिङस्थित कृषि आधुनिकीकरण परियोजनामा कार्यरत । तत्कालीन विजयखर्क गाविसका एक घर, एक जना सरकारी कर्मचारी थिए । एसएलसी दिनुअगावै मुखियाको तयारी हुन्थ्यो ।

कतिपय कर्मचारी संगठनका लागि म काउसो सावित भएको छु । पशुपतिलाई थुन्नुपर्छ भनेर गृहतिरै पुगेको पनि थाहा पाएको छु । कतिपयले भन्न त मलाई निजामतीभित्रको ‘बालेन’ पनि भन्छन् ।

०६२ सालमा एसएलसी दिँदासम्म लोकसेवा वा निजामती सेवाप्रति खासै मोह थिएन । ०६२ सालमै छिरियो राजधानी । प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आर आर क्याम्पस)को विद्यार्थी बनेर । १८ वर्षको युवकमा तातो रगत थियो, राजाविरुद्ध अग्रमोर्चामा रहेर नाराबाजी गर्दै थिएँ वैशाख ०७ गते प्रहरीले पक्रिएर दुई दिन पुरानो बानेश्वरमा थुन्यो । शुरुका केही वर्ष बोर्डिङ स्कूलमा पढाएर जीवनको रथ जसोतसो चलाइरहेको थिएँ । भाइले नै लोकसेवामा नाम निकालेपछि दवाव पर्‍यो र युटर्न भएँ निजामती सेवातिर ।

०६७ साल चैत १० मा स्थायी नियुक्ति बुझेपछि पहिलो पदस्थापन भयो सप्तरी जिविसमा । त्यहाँबाट डेढ महिनामै सोलुखुम्बु जिल्लामा काज खटिएँ । त्यहाँ पाँच वटासम्म गाविस चलाइयो । पछि गाविस हकहित संरक्षण मञ्चको अध्यक्ष नै भएर २ कार्यकाल बसें । जिल्लामा पेशागत महासंघको सचिव र अध्यक्ष समेत चलाएँ । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय प्रतिनिधि भएँ । चुनाव लडें, अलि विद्रोही स्वभाव थियो, कुनै गुटमा थिइन त्यही कारण पराजित भए । संघीयता पछिको अढाई वर्ष माप्य दूधकोशी गाउँपालिकामा कार्यरत रहें । पछि साँखु मालपोत हुँदै अहिले शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालयमा कार्यरत छु । 

दलनिकट कर्मचारी संगठनप्रति मोहभंग ०७६ सालको समायोजनबाटै भएको हो । ट्रेड युनियनका टाउकाहरूले आ–आफ्ना स्वार्थ रोजे । उनीहरू अधिकांशले आफ्नो समायोजन संघमै गराए । तर मजस्ता सयौं कर्मचारीको अवस्था हेरेनन् । यस बीच एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा सरुवा भएर जानुपर्दा दोहोरो सहमति चाहिनेलगायत सुब्बामारा गतिविधि हुन थाले । र हामी तात्यौं । ०७७ सालमा एउटा भेलाको आयोजना गरियो । स्वास्थ्य सेवा, वन, महिला विकास, कम्प्युटर अपरेटरलगायतका कर्मचारीको आकर्षण देखियो स्वतन्त्र निजामती कर्मचारी अभियानप्रति ।

यो अभियानलाई ट्रेड युनियन आन्दोलनकै रूपमा अगाडि बढाउन चाह्यौं र ०७८ साल फागुनमा युनियन दर्ता गर्न कस्सियौं । दलहरू समर्थित ट्रेड युनियनको नेता हुन खोज्नेहरूका भीडमा दलै बिनाको स्वतन्त्र ट्रेड युनियन दर्ता गर्न ५६ सय कर्मचारीको हस्ताक्षर चाहिने हुनाले श्रम विभागमा गएर निवेदन दियौं । तर संगठन दर्ता भएन, सो समयमा हाकिम थिए उमाकान्त अर्याल र उपसचिव मणिराम । यद्यपि, दिनहुँ धर्नासमेत दियौं । राष्ट्रिय स्तरको ट्रेड युनियन दर्ता गर्दा कम्तीमा २० जिल्लामा संगठन विस्तार भएको हुनुपर्ने र ५ हजार कर्मचारीले सदस्यता लिएकै हुनुपर्ने प्रावधान छ । हामीले त्यतिनै संख्यामा हस्ताक्षर गरेको कागजात पेश गरेका थियौं तैपनि हाम्रो अभियान ट्रेड युनियनका रूपमा हुन सकेको छैन । पेश गरिएको कागजातमा हस्ताक्षर गरेका कर्मचारीले एउटा अनुसूची फाराम भर्नुपर्ने र कार्यालयमा कार्यरत कर्मचारी हुन् भनी हाकिमले प्रमाणित गर्नुपर्ने भएपछि स्वतन्त्र कर्मचारी ट्रेड युनियन त्यत्तिकै थान्को लाग्ने अवस्थामा पुग्यो ।

फाराम भर्न नसक्ने अवस्थामा पुगेपछि आफ्नो संगठन छुट्टै खाले भएको, प्रक्रिया र अनुसूची फाराम नै गलत भएको, तालुकदार कार्यालयका प्रमुख अन्य दलको ट्रेड युनियनसँग आबद्ध रहेकाले स्वतन्त्र युनियन दर्ता गर्न नमानेको हुँदा सर्वाेच्चको ढोका ढक्ढकाउन पुगेको छु । गत पुसमै दायर गरेको रिटको पेशी तोकिएको छ आगामी २ असोजलाई । उमाकान्तले हाम्रो संगठन दर्ता नगरेपछि महानिर्देशकको नाममा खुला पत्रै लेखें । पछि उनले ‘सरी’ भने । उनी पछि आएका कृष्ण ज्ञवालीसँग पनि यही बिषयमा निकै चर्काचर्की पर्‍यो । कुनै नेता बन्ने मनशायले स्वतन्त्र संगठन खोल्नु परेको होइन ।

अहिले अस्तित्वमा रहेका र क्रियाशील दलगत ट्रेड युनियनले कर्मचारीको हितभन्दा पनि दलको हित हेरेका, आफन्त पोस्दै र कमाउ धन्दामा लागेकाले देशभरिका १८ हजारभन्दा बढी सचेत युवा कर्मचारीहरू स्वतस्फूर्त रूपमा संगठित भई लागेका छन् । हाम्रो अभियानलाई संगठनको रूपमा दर्ता गर्नबाट रोक्न मोहन घिमिरे, भोला पोखरेल, केदार देवकोटा, हरि रावल, गोपाल पोखरेललगायतका नेताहरू हातै धोएर लागे । फेरि पनि स्पष्ट पार्दैछु हामीले ट्रेड युनियन आन्दोलन चलाएको नेता बन्नका लागि होइन । निर्णयकर्तालाई उन्मुक्ति दिने र टिप्पणी उठाउने कर्मचारीलाई फसाउने प्रवृत्ति बढ्न थालेकोप्रति खबरदारी हो  ।

एकपछि अर्का कर्मचारीहरू हिरासतमा पुग्ने प्रवृत्तिले निजामती सेवा ध्वस्त हुँदैछ । भ्रष्टाचारविरुद्ध हाम्रा बिगुल फुक्नुका साथैं निजामती सेवामाथि हुने सबै खालका प्रहारविरुद्ध ढाल बनेर उभिने प्रणका साथ अहिले निजामती सेवा संरक्षण समूह गठन भएको छ । संयोजकको जिम्मेवारीमा उद्योगकी उपसचिव सिर्जना तिवारी हुनुहुन्छ । यस्तै सह–संयोजकमा म आफैं छु, साथै विवेक घिमिरे र इञ्जिनियर कमलमणि खतिवडा, मनोज न्यौपानेलगायतका साथीहरू एकजुट भई निजामती सेवा संरक्षण समूह बनाइएको छ । हाम्रो समूहले कर्मचारीमाथिको अस्वाभाविक धरपकड रोकी निर्णय प्रक्रियामा मात्रै रहेका कर्मचारीलाई अविलम्ब थुनामुक्त गर्न माग गर्दै मुख्य निर्णयकर्तालाई अनुसन्धानको दायरामा ल्याउन माग गरेपछि बल्ल तातो लागेको हो । दलनिकट कर्मचारी संगठनलाई । हाम्रै आन्दोलनका कारण सञ्चार सचिव कृष्णबहादुर राउत थुनामुक्त हुनुभई अहिले जिम्मेवारीमा फर्कनुभएको छ ।

यही अभियानमा जोडिँदा गत साउन १५ गते महासचिव मीनबहादुर बिक र मलाई प्रहरीले पक्राउ गर्‍यो । मुलुक संघीयतामा गएको आठ वर्ष भयो । संविधान आएको पनि आठै वर्ष पुग्यो तर संविधानपछिको दोस्रो कानुन मानिने कर्मचारीको मूल कानुन अझै अलपत्र छ । यही संघीय निजामती सेवा ऐन छिटो जारी गर्न माग राख्दै १० बुँदे नारा अंकित टिसर्ट लगाएर हिँड्न थालेको महिनौं भयो । यही टिसर्ट लगाएर सामान्य प्रशासनमन्त्री र सचिवहरूलाई भेट्दै छु । हरेक दिन सिंहदरबार आवतजावत गर्दै छु । तर अस्ति गत ३० साउनमा प्रहरीले भित्र पस्न दिएन । भनियो– नारा लेखिएको टिसर्ट लगाएर जान मिल्दैन । उसो हो भने लुगा फुकालेर नांगै सिंहदरबार छिर्छु भन्दा पनि दिएनन् । कारण निजामती प्रशासन नांगो छ, कर्मचारीलाई राजनीतिले नांगो पारेको छ, त्यसैलाई उजागर गर्नु हो ।

सोही कारण आधी घण्टासम्म प्रहरीसँग जुहारी चल्यो र अन्तिममा पक्रिएर लग्यो । भोलिपल्टै सयौं साथीहरू गेटमा उतार्ने तयारी गरिरहेका थियौं फेरि पक्राउ परियो । अहिले कतिपय कर्मचारी संगठनका लागि म काउसो सावित भएको छु । पशुपतिलाई थुन्नुपर्छ भनेर गृहतिरै पुगेको पनि थाहा पाएको छु । कतिपयले भन्न त मलाई निजामतीभित्रको ‘बालेन’ पनि भन्छन् । तर मैले नेता बन्नका लागि र आफ्नो स्वार्थपूर्ति गर्नका लागि यो आन्दोलन वा अभियान शुरु गरिरहेको छैन । यो अभियानलाई एउटा निश्कर्षमा पुर्‍याएर मात्र आन्दोलनलाई बिट मार्ने योजना छ ।

– पशुपति पोखरेल
 

टिप्पणीहरू