राम्री हुनु पनि अभिषाप हो जिन्दगीमा

राम्री हुनु पनि अभिषाप हो जिन्दगीमा

केही हुन्छन्, फूलको थुँगाझैं सधैँ आँखाकै वरपर राखिरहुँ झैं लाग्ने, अत्यन्त प्रेमले सँगालेर । अनि हुन्छन् केही आफन्त आँखाको कसिंगरझैं । अरूलाई सताउन र पीडा दिनकै लागि जन्मिएका शैतानी स्वभावका एक जना आफन्तबाटै लुटिएको छ मेरो जिन्दगी । फुल्न नपाई कोपिलामै चुडिएँ र, जिन्दगी बन्न पुगेको छ वल्लो घाट न पल्लो तीरको ।

दुःख र अभाव झेल्नुभयो बुवा–आमाले । दुई दिदी र दुई दाजुपछिको कान्छी । दिदीको शरीर हेर्नलायक थिएन । शरीरभरि एक किसिमको सेतो दाग (दुबी) ले कुरूप बनाइदिएको थियो । न त पर्याप्त औपचारिक शिक्षा, अर्काेतिर शरीरभर सेतो दाग हुँदा बुवा–आमालाई सदैव एक किसिमको त्रासले सताइरहेको पाउँथें, यसलाई लैजाला कसले ? जसोतसो दिदीको विवाह त भयो तर राम्रोसँग जम्न सकेन घरबार । काभ्रेपलाञ्चोक कोशीपारि दिइएको थियो, दिदीलाई । विवाहको केही महिनापछि नै भिनाजु रोजगारीको सिलसिलामा दक्षिणी मुलुक भारतको गडवालतिर हान्निनुभयो । लामो समय भयो उहाँ सम्पर्कविहीनझैं भएको । उहाँ विवाहपश्चात् घर आउन र सम्पर्क गर्न बन्द गर्नुभयो । थाहा छैन, कुन हालतमा हुनुहुन्छ । दशक बढी भयो सम्पर्कविहीन भएको । 

महिलाहरू बेचिनका लागि कुनै दिल्ली वा मुम्बईको कोठीमै पुर्‍याइनु नपर्दाेरहेछ । आफ्नै घरबाट, आफन्त भनाँउदाबाटै बेचिँदा रहेछन्, नगदी र हातहातीमै ।

धेरै टाढा पनि होइन, बनेपा बजार र काभ्रेको कोशीपारि । तर, विरलै माइतीघर आउँथिन् दिदी । विवाहपछि बच्चाको लालन, पालन, घर व्यवहारका कारण पनि थिचिएकी थिई, त्यहीमाथि भेना सम्पर्कविहीन हुँदा पीडाको पहाड आफ्नै थिए । तिज, तिहार, भाइटीका वा आमाको मुख हेर्ने चाडपर्वको अवसर पारेर हुन्थ्यो दिदीसँग भेट । तर, आगो लिन आएजस्तो, आउन पाएकी छैन, फर्कनै हतार । एसइई सकिएपछि खाली थियो समय, म पुगेको थिएँ दिदीकोमा । गहभरि आँशु पार्दै पोखेकी थिइन्– आफ्ना दुःखको पहाड । गुनासो थियो बुवा–आमाप्रति, नराम्रो केटाको फन्दामा परेको र दुःख भोग्नुपरेको । मन त्यसै–त्यसै हुँडलिन्थ्यो, कुँडिन्थ्यो । दिदीका दर्दभरि कहानी सुन्दासुन्दै अनायसै टिलपिल हुन्थे आँखा । दुबै सुँक्सुकाउँथ्यौं ।

दिदीको सल्लाह थियो– ‘तँ त पढे/लेखेकी छेस् । औधी राम्री पनि– जहाँ पायो त्यहीँ, जस्तो पायो उस्तैसँग नहाम्फालेस् । घर फर्कंदा दिदीको सकसले मन भारी हुन्थ्यो । त्यसको केही महिनापछि नै माइली दिदीको पनि विवाह भयो सिन्धुपाल्चोकको केटासँग । उनीहरूको आर्थिक स्थिति हाम्रोभन्दा धेरै राम्रो थियो । हाम्रोमा वर्षाैँभर हाड छाला घोट्दा पनि मुश्किलले ६ महिना हातमुख जोर्न पुग्थ्यो । माइली दिदीकोमा भने प्रशस्त अन्न उब्जनी हुन्थ्यो । तर, दुःखको आयतन पनि ठाउँ हेरेर फरक हुँदोरहेछ । उनको भागमा पनि दुःखका पहाड नै थियो । सासू–ससुरा रिझाउनु, नन्द, आमाजू, जेठाजुको मन र मान मनितो राख्नु । श्रीमान्को चित्त बुझाउनु । हामी एउटै आमाको सन्तान, एउटै लाम्टा तानेर हुर्किएका तर स्वभाव फरक । जेठी र माइलीको स्वभावमा आकाश र जमिनझैँ अन्तर । ठुल्दिदी मनको पीडा मनमै लुकाएर राख्ने स्वभावको, माइली दिदीको मुख बढी र हात कम चल्थ्यो । 

अर्काको घर गरिखाने जात, छोरी–चेलीको । श्रीमान्लाई मुख चलाएको भन्दै भिनाजुले नील डाम हुने गरी तारन्तार पिटेको र सहन नसकी भागेर आएकी थिइन् दिदी । उनको जीउभरि नील डाम देख्दा आङै सिरिंग हुन्थ्यो मेरो । साता दिनसम्म माइलो भिनाजु लिन आउनुभएन । उताबाट लिन कोही आफन्त नआएपछि आमाबुवाले दिदीलाई सम्झाउनुभयो, ‘छोरी, घर बिग्रियो भने त सबै नासिन्छ । घर गरेर, रिझाएर खान सिक् । भनेर ठूलो होइन सहेर सानो हुन सिक् ।’ अघिल्लो तिज र तिहारमा भेट भएको हो दिदीसँग पनि । श्रीमान्बाट पाउने प्रताडना सुनाउँदै भक्कानिँदै भन्थिन्, छैटौं दिनमा ललाटमा भावीले यस्तै लेखिदिएको रहेछ । कसलाई के दोष दिऊँ ? जेठी दिदीले झैं माइली दिदीले पनि भनेकी थिइन्– तँ त लाडप्यारमा हुर्किएकी, पढ्दै छेस् मति नबिगारेस् । उमेर भर्खरै १९ वर्ष । लक्ष्य थियो पढेर केही गर्ने । तर हाय, जिन्दगी कहाँको भासमा पुगेर जाकिएको छु म, उठ्नै नसक्ने गरी । 

महिलाहरू बेचिनका लागि कुनै दिल्ली वा मुम्बईको कोठीमै पुर्‍याइनु नपर्दाेरहेछ । आफ्नै घरबाट, आफन्त भनाँउदाबाटै बेचिँदा रहेछन्, नगदी र हातहातीमै । हो, म पनि उसैगरी बेचिएँ, आफ्नै भिनाजु भनाउँदोबाट । मेरो दिदीका लागि आस्थाका केन्द्रविन्दु, भरोसा गर्ने एक मात्र पात्र भिनाजु । तर, मेरालागि उनी घृणा गर्नसमेत नालायक पात्र हुन् । पात्र उही, कसैको नजरमा भगवान्, कसैको नजरमा शैतान । उनै भेनाका रहर पूरा गर्ने नाममा म फुल्न नपाउँदै चुँडिएँ । अहिले घर न घाटको स्थिति झेल्दै छु । जगतको जग भर नै भरको हुनुपर्ने थियो तर उल्टो छ यहाँ, भरको होइन डरको संसार निर्माण भएको छ । यहाँ कसको भर पर्ने आफ्नो बनेर छुरा हान्नेहरूको के कुरा गर्नु ? जोमाथि म आँखा चिम्लेर विश्वास गर्थेँ, उसैले जब खेल्यो मेरो भविष्यमाथि, त्यही दिनदेखि ऊ मेरो नजरबाट कहिल्यै नउठ्ने गरी गिरेको छ । भुइँमा चिप्लेर लडेको मान्छे त उठ्न सक्ला, उठेर बामे सर्दै हिँड्न पनि सक्दो हो मान्छे तर जब खस्छ नि नजरबाट, कहिल्यै उठ्न सक्दैन रहेछ ।

मेरो जिन्दगीसँग खेल्ने मेरो काकाको ज्वाइँ । उहाँका दुई छोरी, दुई छोरा । कान्छी दिदी काठमाडौंको धनाढ्यसँग विवाह गरेका कारण उनको केही समस्या थिएन । जेठी दिदी पनि प्रताडित थिइन् घरपरिवारबाट । उस्तै पीडाको पहाड झेलिरहेकी थिइन्, जस्तो अरू दुई दिदीको थियो । जीवनमा एक मुठी सास अड्याउनका लागि भिनाजुले के मात्र गरेनन् ? कहिले कामको सिलसिलामा दिल्लीतिर भासिए, कहिले मलेसिया पुगे । फर्केर आए र काठमाडौँको वनस्थलीमा भट्टी चलाए । त्यहाँबाट सिफ्ट भएर केही समय वीर अस्पतालमा क्यान्टिन चलाउँथे । नाम ईश्वर ढकाल तर उनीजस्तो दानवी स्वभावको मान्छे मैले आजसम्म कहीँ–कतै भेटेको छैन । 

वर्षमा एक पटक दशैँ पर्वमा ससुराली आउँथे । आएको समयमा माया गर्थे । के थाहा त्यो मायाभित्र यति ठूलो स्वार्थ लुकेको छ भन्ने ? दशैंमा मात्र झुल्कने भेना यस पटक वैशाखमै घर आए । उनको साथमा एक जना अधवैंशे थिए । म पढाइमै अल्झिरहेको थिएँ । बुवाआमासँग के कुराकानी भयो कुन्नि, बेलुका आठै बजे हिँड्ने तयारी गर्दै थिए । मैले भिनाजुलाई बस्न आग्रह गरेँ । भोलि बिहानै आउँछु नानी भन्दै बाहिर निस्किए । बेलुका सुत्ने बेलामा आमाले भन्नुभयो– त्यो केटासँग तँलाई टीकाटाला गराइदिन्छौँ भोलि बिहान हामी । बुझ्दै गएँ झापा घर रहेछ उसको । धन सम्पत्ति प्रशस्त भएको तर पहिलाको श्रीमतीले छाडेर गएको । बिहान खाए बेलुका के खाऊँ ? यही अभावले हामीलाई डस्न कहिल्यै छाडेको थिएन । जति शरीर घोटे पनि न त जग्गा बढ्न सकेको थियो न उब्जनी नै ! बरु खाने मुख बढिरहेका थिए । गरिब थियौं तर संस्कारमा हुर्किएका थियौं ।

बुवाआमासँग कहिल्यै मुख फर्काइएन । सोच्थ्याैँ– हाम्रै हितका लागि त बुवाआमाले सबै गरिरहनुभएको छ । तर मेरो जीवन भासमा जाकिँदै थियो । जीवनमा एक पटक गरिने विवाह, त्यो पनि २० औं वर्ष उमेरको ग्याप । हाय विधाता । कहाँकी म १७ वर्षकी नवयौवना, कहाँको ४५ नाघेको प्रौढ । बुवाआमाको इच्छा पूरा गरिदिने नाममा आफ्नो इच्छा शहीद भयो । मेरो जीवन घरको न घाटको भयो । विवाह त त्यहाँ हुन्छ जहाँ मनसँग मनको नेटवर्क मिल्छ । तन र मनको कुनै नेटवर्क नमिल्ने स्थानमा नेटवर्क कनेक्सन हुन सक्ने अवस्था नै रहँदैन । हो, उही स्थिति रह्यो मेरो पनि । दिदीहरूको जस्तो मलाई सम्पत्तिको केही कमी छैन । दुःख छैन । तैपनि खै मन एक रत्ति खुशी छैन । भौतिक सुखले मात्रै केही लछार्दाे रहेनछ । श्री सम्पत्तिमा मात्रै खुशी पनि कहाँ मिल्दोरहेछ र ? 

म दुःखी अरू कारणले होइन आफ्नै भिनाजु भनाउँदाको कारणले छु । जसले आफ्नो ऋण तिर्ने नाममा आफ्नै सालीलाई बलिको बोका बनाएका रहेछन् । अहिले म जोसँग छु उनैले भनेका रहेछन्– मलाई राम्री केटी मिलाइदिनेलाई केही लाख रकम दिन्छु । बरको लागि वधू खोजिदिने काम भिनाजुले पाएका रहेछन् । मेरो सोझा बुवाआमालाई प्रयोग गरेर मलाई बलिको बोका बनाए । मेरो घरवार बिगारेर अहिले होटल चलाउने हैसियतमा पुगेका छन् । तर, यो दुःखी चेलीको आँशुले उनलाई पोलिरहनेछ । मेरो दिदीको आस्था, विश्वास र प्रेम ऊ मेरालागि भने घृणाको पात्र बनिरहने छ, जीवनभर । 
 

टिप्पणीहरू