यो कस्तो साइनो, यो कस्तो सम्बन्ध

यो कस्तो साइनो, यो कस्तो सम्बन्ध
सुन्नुहोस्

परालको आगोमा सीमित रहेन लोग्ने–स्वास्नीको झगडा । पहिले पो हुर्रर बल्थ्यो, क्षणभरमै निभिहाल्थ्यो, अब त यो ‘मूढाको आगो’ बन्न थाल्यो । आगो दन्किन थालेपछि निभाउन उही अदालतकै ढोका ढक्ढक्याउनुपर्ने स्थिति । घटना एउटै– सम्बन्धविच्छेद तर प्रकृति फरक–फरक । कोहीको बिहेपछि सम्बन्ध खल्बलिएका, कोहीले सम्पत्तिकै लागि बिहे रोजेका, कोही जानीजानी अंशकै लागि दोश्रो श्रीमती भएर भित्रिएका, अझै सम्पत्ति खानकै लागि एउटै युवतीले दर्जन केटासँग विवाह गर्दै पारपाचुके गरेको घटना देखिन्छन्भे/टिन्छन् अदालततिर । मोबाइलमा आउने मिस्डकलबाट शुरु हुने प्रेम, चार महिनामै विवाह र त्यसको पाँच महिना नबित्दै सम्बन्धविच्छेद !

चितवन जिल्ला अदालतमा भेटिएका यस्तै अभागी पुरुषको कहानी हो यो । कथा यसरी शुरु हुन्छ– निरौला थरकी पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेका श्रीराम चौलागाईंले पहिलो श्रीमतीसँग अलग भएको सातापछि नै भित्र्याए विपनालाई । सपना सजाएका थिए, बाँकी जिन्दगी सहजै कटाउने तर सात जुनी सँगै मर्ने, सँगै बाँच्ने कसम सपना मात्रै बनिदिन्छ अर्थात् विवाह गरेको पाँच महिना नपुग्दै दोश्रो श्रीमतीसँग पनि पहिलेकै श्रीमतीको झैँ कथा दोहोरिन्छ । सम्बन्धमा पूर्णविराम लाग्न पुग्छ । भनिन्छ नि, मान्छेले नियतिलाई बदल्न सक्छ तर सक्दैन कसैको नियत फेर्न । एउटै नगरपालिका, मात्र वडा फरक । विपना गौतमलाई थाहा नहुने कुरै थिएन श्रीरामको पहिलो सम्बन्धमा पूर्णविराम लागेको । पहिलो श्रीमतीसँग सम्बन्ध नहुँदैदेखि रिलेसनमा थिए वा पछि जोडिएको थियो सम्बन्ध विपना गौतमसँग ? खोजी गर्दै छन् श्रीरामका आफन्त ।

मोबाइलमा आउने मिस्डकलबाट शुरु हुने प्रेम, चार महिनामै विवाह र त्यसको पाँच महिना नबित्दै सम्बन्धविच्छेद !

तर, चासो राखेर पनि अर्थ केही छैन अब । कतिपय आफन्तले लख काट्ने गरेका छन्, विपनाकै कारण श्रीरामको पहिलो श्रीमतीसँग सम्बन्ध बिग्रिएको । भरतपुरमा पसल चलाएर जीवन गुजार्दै आएका श्रीराम र विपनाको जोडिएको थियो मनको नेटवर्क । पहिलाको तीतो सम्बन्ध भुल्नकै लागि उनी दोश्रो घरजम गर्न तम्सिएका थिए । तर, खोट केटाको नियतमा थियो वा केटीको ? प्रश्न गर्दै छन् भरतपुर नगरपालिका–६ का बासिन्दा । जेठी श्रीमतीसँगको सम्बन्धमा पूर्णविराम लागेपछि दोश्रो घरजम पनि राम्रोसँग गर्न लेखेको रहेनछ श्रीरामको पुर्पुरोमा । निरौला थरकी जेठी श्रीमतीसँग २० वर्ष लामो सम्बन्धलाई पूर्णविराम लगाएका थिए २०७९ फागुनमा । जेठी श्रीमतीसँग सम्बन्धविच्छेदसँगै अंशबण्डा भएको छ । जेठीतर्फ १ छोरीलाई अंशसमेत दिएर अलग भएका श्रीरामले चैत पहिलो साता विपनासँग किन घरजम गरे ? विपना के देखेर उनीसँग आउन राजी भइन् ? सम्बन्ध जोडेको चार महिना व्यतित नहुँदै किन भत्काउन राजी भए ती ? प्रश्न अनेक छन् । छैन, उत्तर ।

सांस्कृतिक रूपमा विवाह गरे, ०७९ साल चैतमा । गल्ती कसको ? कसैले कल्पना पनि गरेको हुँदैन कि पाँच महिनामै सम्बन्ध धरापमा पर्ला भनेर । तर, जे नहुनुपर्ने भयो त्यही भयो श्रीराम र विपनाको जीवनमा । यी दुईको खुशीमाथि कसको आँखा लाग्यो कुन्नि ? भरतपुर–७ बस्ने ३३ वर्षकी विपनासँग ४३ वर्षीय श्रीरामले रोजेर विवाह गरेका हुन् । अल्लारे होइनन्, न त कुर्कुरे उमेरै ! ४३ वर्षको उमेरमा हिँडिरहेका प्रौढ प्यारका मामलामा किन यति कच्चा भए होलान् ?

‘हनिमुन पिरियड’ नसकिँदै असार २९ गते केटाले केटीमाथि मरणासन्न हुनेगरी कुटपिट गरेको आरोप लागेको छ । पतिको दानवीय व्यवहार सहन नसकेर ज्यान रक्षाका निम्ति विपना पुगिन् माइतीको शरणमा । पहिले पनि बुबाआमा भन्थे– छोरी, घर गरेर खानुपर्छ । नारी भनेको धर्ती हो सहनुपर्छ । अहिले त्यस्तो अर्ति उपदेश दिने बुवाआमा भेटिँदैनन् । पतिको हिंस्रक व्यवहारले सँगै बस्न नसक्ने अवस्था नभएपछि माइती पुगेकी विपनाले आगोमाथि घ्यू पाइन् । त्यही कारण पुगिन् चितवन जिल्ला अदालत । र, सम्बन्धविच्छेदको मुद्दा दायर गरिन् । रिटमा भनिएको छ, ‘मरणासन्न अवस्थामा पु¥याइयो ।’ घरमा बस्ने अवस्था नभएपछि माइतीको शरणमा आएकी हुँ । यसअघि गत फागुनमै मात्र त हो यही अदालतबाट कानुनी झमेलामा मुक्ति पाएको । श्रीमती र छोरीका नाममा अंश दिएर छुट्कारा पाएका श्रीराम सायदै आफ्नै खुट्टामा आफैंले बञ्चरो ताकेको परिणाम भोग्न विवश भए ।

चार महिनामै दोश्रो श्रीमती पनि उसैगरी अदालतको ढोका ढक्ढक्याउन पुगेपछि फेरि उस्तै झमेलामा फस्न पुगे श्रीराम । लगालग दुई श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुपर्दा एकातिर सम्पत्ति र अर्काेतिर इज्जत पनि गुमाउनुपर्ने स्थिति छँदै छ । यो घटनाले उनको मनमा लागेको घाउको उपचार कुनै अस्पतालमा पनि नपाइएला । तर, भन्छन् नि हुने हार दैव नटार । को चाहन्छ होला र बल्लतल्ल जोडिएको सम्बन्धलाई बिट मार्न तर नचाहेरै बाध्य भए जोडिएको सम्बन्ध तोड्न, हिँडिरहेको बाटो अन्यत्र मोड्न । सायद श्रीरामकै ललाटमा खोट थियो कि, पहिलो पत्नीसँग सम्बन्धमा ब्रेक लागेपछि दोस्रो श्रीमतीसँग घरजम गर्दै थिए । यो सम्बन्धलाई दिगो र स्थायी रूपमा टिकाउन पर्ने थियो । तर, किन र कहाँ चुके ? विवाहपछि श्रीमतीसँग ९ लाख रूपैयाँ नगद लिएर मासेको रहेछन् श्रीरामले । सो रकमको एक भाग अंशसमेत पाउनुपर्ने माग गर्दै केटीले जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेकी थिइन् विपनाले ।

सम्पत्तिमाथि दावा छाडेपछि ९ लाख रूपैयाँ केटीलाई बुझाएर मिलापत्र गर्न पुगेका छन् उनीहरू । सम्बन्धविच्छेदको केटा र केटीबीच ८ बुँदे सहमति भएको छ । सहमतिअन्तर्गत कुनै अंश नलिने तर केटाले चलाएको ९ लाख रूपैयाँ जस्ताको तस्तै फिर्ता गर्ने र भरतपुर–७ स्थित कस्मेटिक र ब्युटी पार्लर केटीकै मातहत हुने, मुद्दामा लाग्ने सबै खर्च केटाले व्यहोर्ने, दुईबीच सम्बन्धविच्छेदसँगै मित्रवत् व्यवहार र कानुनविपरीत कार्य गर्न नहुने गरी अदालतले मिलापत्र गरिदिएको छ । चार महिनासँग एउटै सिरानी गरेर सुतेका यी दम्पतीले अब एकले अर्कालाई चिन्ने छैनन् । कुनै दिन बाटोमा, मोडमा अकस्मात् भेटिए पनि मुन्टो बटारेर हिँड्नुपर्ने स्थितिमा पुगेका छन् ।

– श्रीरामका आफन्त
 

टिप्पणीहरू