चिनियाँ कम्युनिष्ट नेत्री जनआस्था कार्यालयमा

चिनियाँ कम्युनिष्ट नेत्री जनआस्था कार्यालयमा
सुन्नुहोस्

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को युन्नान प्रान्तीय स्थायी समिति सदस्य चंग यानले आस्था प्रकाशन प्रालिको भ्रमण गर्नुभएको छ । ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सोमबार काठमाडौँ आइपुग्नुभएकी यानले आज बिहान ललितपुरको झम्सिखेलस्थित जनआस्था कार्यालय पुगेर नेपाली मिडियाको अवस्थाबारे जानकारी लिनुभएको हो । 

त्यसक्रममा नेत्री यानले नेपाल र चीनबीचको असल सम्बन्धलाई जनस्तरमा विकास गर्न मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । द्दिपक्षीय हित र चासोका विषयमा दुवै देशका पत्रकार र मिडियाहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिंदै उहाँले यसका लागि नेपाल-चाइना मिडिया फोरम र जनआस्थाले खेलेको भूमिकाको प्रशँशा गर्नुभयो । न्यु मिडियाको उच्चतम प्रयोग गर्दै आगामी दिनमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउन सकिने उहाँको विश्वास छ ।

सो क्रममा यान नेतृत्वको चिनियाँ टोलीले जनआस्थाको अनलाइन समाचार कक्ष,मुद्रण विभाग र स्टुडियोको अवलोकन गरेको थियो । नेपाल-चाइना मिडिया फोरमको समेत अध्यक्ष रहनुभएका आस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठले पाहुना टोलीलाई कार्यालयमा स्वागत गर्नुभएको थियो । त्यसक्रममा नेपालको आर्थिक विकासमा चीनले पुर्याएको योगदानको चर्चा गर्दै उहाँले त्यसलाई दुवै मुलुकका जनतामाझ पुर्याउन आपसी सहकार्य हुनुपर्ने बताउनुभयो ।

 

फोरमका महासचिव तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य,पाका पत्रकार कमल कोइरालालगायतले पनि पाहुनाको स्वागत गरेका थिए । पर्सिदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुन लाग्नुभएका आचार्यलाई नेत्री यानले युन्नान भ्रमणको निम्तोसमेत दिनुभएको छ ।  

नेपालको जस्तै सांस्कृतिक विविधता रहेको युन्नानको राजधानी कुन्मिङ चीनका लागि दक्षिण एसियाली मुलुकहरुसँग सम्पर्क जोड्ने हब मानिन्छ । मिडिया, सूचना र प्रविधिको विकासमा निकै अगाडि रहेको युन्नानलाई चीनले 'साउथ इष्ट,साउथ वेष्ट कन्ट्याक्ट कन्ट्री' समेत घोषणा गरेको छ । 

वनस्पति,फलफूल र पुष्प उत्पादनमा दक्षिण एसियामै अगाडि रहेको युन्नान पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । सन् २०१९ मा आन्तरिक र बाह्य गरी ८ मिलियन पर्यटकले युन्नान भ्रमण गरेको सरकारी तथ्यांक छ । जुन अघिल्ला वर्षहरुको तुलनामा १३४ प्रतिशतले बढी हो । आगामी वर्ष १० मिलियन पर्यटक थपिने प्रान्तीय सरकारले अपेक्षा गरेको छ ।

 

सोही प्रान्तकी सिपिसी नेतृ यान नेतृत्वको टोलीले सोमबार काठमाडौँ उत्रेलगत्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेको थियो । त्यस्तै, ठमेल,भक्तपुर दरबार स्क्वायरलगायतका पर्यटकीय क्षेत्रको भ्रमण गरेको चिनियाँ टोली आज बिहान नेपाल टेलिभिजनको अवलोकनका लागि सिंहदरबार पुगेको थियो ।

टिप्पणीहरू