करण केसी सर्वोत्कृष्ट खेलाडी घोषित, यूएईका वासिल उत्कृष्ट ब्याटर
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी त्रिकोणात्मक टी २० आई सिरिजमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
घरेलु मैदानमा सम्पन्न सिरिजमा सबैभन्दा धेरै विकेट लिएका उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका हुन् । पाँच खेलमा १० विकेट लिएका करणले आज भएको फाइनलमा १७ बलमा अविजित २३ रन बनाएका थिए ।
करणले पहिलो खेलमा ३, दोस्रो खेलमा ४, तेस्रो खेलमा २ र चौथोमा १ विकेट लिएका थिए । फाइलनमा भने विकेटविहीन रहेका उनले ब्याटिङतर्फ योगदान दिए ।
त्यस्तै, यूएईका बासिल हमिद प्रतियोगिताकै उत्कृष्ट ब्याटर घोषित भए । ५ खेलमा जम्मा १५९ रन बनाएका उनले फाइनलमा १६ बलमा अविजित २२ रन बनाएका थिए । अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको खेलमा उनले नै विजयी रन हानेका थिए ।
सिरिजकै सर्वोत्कृष्ट खेलाडी चुनिएका करण उत्कृष्ट बलर पनि घोषित भए । उनले पल्सरको १६० सिसीको मोटरसाइकल प्राप्त गरे ।
नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि भने यूएईले जितेको छ । नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले समूह चरणका चारवटै खेल जितेको थियो । तर, फाइनलमा भने त्यसअनुसारको प्रदर्शन गर्न नसक्दा नेपालले उपाधि जित्न सकेन ।
टिप्पणीहरू