सबै श्रेणीहरू

अल्का अस्पतालका मालिकको विवाद छताछुल्ल, कम्पनी कार्यालयमा दोहोर्याएर उजुरी

अल्का अस्पतालका मालिकको विवाद छताछुल्ल, कम्पनी कार्यालयमा दोहोर्याएर उजुरी

एक्काइशौं वर्षगाँठ मनाउने तयारीमा रहेको अल्का अस्पतालमा लगानीकर्ताहरुबीच शेयर विवाद चुलिएको छ । लगानीकर्ताहरु एकले अर्कालाई निषेध गर्ने तहमा पुगेपछि विवाद चर्किएको हो । 

विवाद कम्पनी रजिष्ट्रारको कार्यालयसम्म पुगेको छ । अल्काका अल्पमत शेयरधनी तथा बोर्ड अफ डाइरेक्टर रहेका व्यवसायी रामेश्वर थापाले बराबरी शेयर र सञ्चालक समितिमा समान प्रतिनिधित्व बनाइदिनुपर्ने माग राख्दै कार्यालयमा उजुरी दिएको बताइएको छ । 

यता, अस्पतालका अध्यक्षसमेत रहेका बहुमत शेयरधनी कुमार थापा उर्फ तिलकबहादुर थापा र उनकी श्रीमती विद्या श्रेष्ठ थापा कम्पनी कार्यालयमा उजुरी परेपछि सम्भावित कारबाहीबाट जोगिन अर्का शेयरधनी रामेश्वरसँग हारगुहार गरिरहेको स्रोतले बताएको छ । अस्पताल संचालनमा एकलौटी गरिरहेका थापा दम्पत्ती कीर्ते तथा ठगी प्रकरणमा तानिने भयले अत्तालिएको बताइन्छ । 

२०५८ मंसिर ९ गते स्थापना भएको यो अस्पतालमा एस.एस.जी इन्भेष्टमेण्ट प्रालिको ५० प्रतिशत शेयर छ । बाँकी थापा दम्पत्तीको लगानी हो । इन्भेष्टमेण्टका तर्फबाट अध्यक्ष रामेश्वर थापालाई अस्पतालको सञ्चालक चयन गरिएको छ । तर, थापा दम्पत्तीले ५० प्रतिशत लगानीका सञ्चालकलाई जानकारी नै नगराई आफूखुसी आर्थिक कामकारबाही गर्दै आएका थिए । 

जसका कारण पछिल्लो समय सञ्चालकहरुबीच नै विवाद चुलिँदै गएको स्रोतको भनाई छ । जनाइएअनुसार अस्पतालको आर्थिकलगायतका कामकारबाहीसमेत विवादित देखिएको छ । रामेश्वर थापाको कीर्ते दस्तखत गरी आर्थिक वर्ष २०७७–७८ को वार्षिक साधारण सभा एवं सञ्चालक समिति गठन गरेको पाइएको स्रोत बताउँछ । 

यता, कम्पनी रजिष्ट्रार कार्यालयका कानुनतर्फका उपसचिव टोपबहादुर विष्टले अल्का अस्पतालको शेयर विवादको उजुरी परेको पुष्टि गरे । एक पक्षले सञ्चालक समितिमा समान प्रतिनिधित्व र बराबर शेयर गरिपाऊँ भन्दै उजुरी दिएको उनले जानकारी दिए । 

‘अस्पतालको एक सञ्चालक पक्षले उजुरी दिएको छ । एक कित्ता शेयर कम छ, त्यो बराबरी गरिपाऊँ भन्दै उजुरी आएको थियो । अब त्यो हामीले होइन्, साधारण सभाले गर्ने हो भन्यौं । त्यसपछि पुनः उजुरी आएको छ’, उनले भने । 

तिहारअघि फेरिपनि उजुरी परेको उपसचिव विष्टले बताए । निरीक्षणको माग गर्दै उजुरी हालिएको र कार्यालयले आज गोलाप्रथामार्फत निरीक्षक खटाइदिने उनले जानकारी दिए ।