श्रीमती छँदै अर्काे विवाह गर्न मिल्छ र श्रीमान् ?

श्रीमती छँदै अर्काे विवाह गर्न मिल्छ र श्रीमान् ?
सुन्नुहोस्

मेरो जन्मथलो काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगरपालिका वडा नं ८ काम्पानी हो । विवाह सिन्धुपाल्चोक जिल्ला साविक साँगाचोक गाविस ३ हाल परिवर्तित चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ बस्ने खड्गबहादुर गिरीको नाति, चित्रबहादुर गिरीको छोरा सुशील गिरी (नाप्र नं २४१०५४/४६७९) सँग मिति २०६७ फागुन २८ गते सामाजिक परम्पराअनुसार माइतीघरबाट भएको हो । कर्मघर पारिवारिक मर्यादा र अनुशासनमा रही सक्ने जिम्मेवारी सुख–दुःखका साथ पूरा गर्दै आएँ । मबाट २ जना छोराको जन्म भयो । बुबा, आमाले किसानी साथै मजदुरी गरेर चार सन्तानलाई हुर्काउने, बढाउने र पढाउने गरेकाले मलाई विवाहमा ठूलै दाइजो दिन सक्ने हैसियत थिएन । उसलाई कसरी आफ्नो कूलको मर्यादा सिकाउने ? परिवार सुखी र समृद्ध बनाउनेमा बुहारीको भूमिका के हुन्छ ? भन्ने सोच हुँदो रहेनछ । 

घर गएको केही दिनदेखि नै दाइजोको निहुँमा मानसिक दबाब हुन थाल्यो । सासू ससुराले समय–समयमा हेँला गर्ने र श्रीमान्ले त्यसमा साथ दिँदै गाली मात्रै होइन कुटपिट गर्ने क्रम चलिरहेको थियो । घर छाडेर हिँडौँ माइतीमा बुबाआमालाई बुढेसकालमा छोरीको घर बिग्रियो भन्ने कुराको तनाव हुने । नछाडौँ सधैँ श्रीमान्को कुटाइ र सासू ससुराको मानसिक दबाब सहनुपर्ने । तैपनि, सहनुको विकल्प रहेनछ । एकपछि अर्काे सन्तान जन्मिएपछि सबै तनाव गौण लाग्दा रहेछन् । लाग्दो रहेछ  चाहिँ के भने जिम्मेवारी, दायित्व र भविष्य । अझ घरपरिवार, माइती र आफन्तको इज्जत । इज्जत जोगाउने र बच्चाहरू हुर्काउने । श्रीमान्ले कुटे कुटाइ खाने । माया गरेजस्तो गरे चुप बस्नुपर्ने । उनीहरूको कठपुतलीजस्तो बनिनेरहेछ । एक खालको कारागार पनि रहेछ जिन्दगी । हामीजस्तो शिक्षित भएका महिलाले त त्यस्तो भोग्नुपर्ने रहेछ भने सामान्य लेखपढ गरेका अझ लेखपढ नै नगरेका महिलाले कस्तो समस्या झेल्नुपर्छ होला ? 

विवाहको ५ वर्षपछि ०७३ भदौ १४ गते मेरा श्रीमान् सुशील गिरी वैदेशिक रोजगारीमा गए । यता मैले २ छोरा, ससुरा र सासूको हेरचाह गरेर केही वर्ष गाउँमै बसेँ । श्रीमान्ले पैसा कमाएर पठाएपछि धुलिखेल नगरपालिका–४ काठमाडौँ विश्वविद्यालय नजिक घडेरी किनेर घर बनाउने काम भयो । त्यसपछि गाउँ छाडेर उक्त स्थानमा बसाइँ सर्‍यौं । कागजी रूपमा त्यसो नगरे पनि व्यावहारिक रूपमा हामी सिन्धुपाल्चोक छाडेर धुलिखेल बस्न थाल्यौं । यता सासू–ससुराबाट घरेलु हिंसाले सीमा नाघ्न थाल्यो । उता श्रीमान्ले मसँग फोन तथा मेसेञ्जरमा कुराकानी बन्द गरे । फेसबुकमा समेत ब्लक गरेर बसे । कहाँ बस्छन् मलाई थाहा हुन सकेन । सासू ससुराले हैरान खेलाएपछि पटक पटक प्रहरी चौकी र काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएँ । उनीहरू धेरैजसो उपस्थित भएनन्, एकपटक उपस्थित भएका तर जिल्ला प्रहरीले सम्बन्धित मानिस नभएकाले बूढाबूढीलाई हामीले केही गर्न मिल्दैन भनेर फर्कायो ।

मलाई कहीँबाट न्याय मिल्ने छाँटकाँट नदेखेपछि २ छोराहरूलाई त्यहीं छाडेर माइतीमा बस्न थालें । त्यो क्रम लामो भयो । करिब दुई वर्षसम्म माइतीमै बसेँ । माइतीमा बसेर पनि काम गरिखाने ठाउँ नभेटेपछि बिदेसिन बाध्य भएँ । २०८० भाद्र २६ गते साइप्रसको पारालिमनी भन्ने स्थानमा आइपुगेँ । यहाँ एक वृद्ध आमाको स्याहार सुसार गर्ने काममा छु । म विदेश नहिडुञ्जेलसम्म उनीहरूले कुनै खोजखबर गरेनन् । मलाई घरमा बस्न दिने कुरा त परै जाओस् कहाँ छस् भनेरसमेत सोध्न चाहेनन् । मैले अंश मुद्दा हाँलु भने श्रीमान्को अत्तोपत्तो थिएन । अहिले सम्बन्धबिच्छेदको लागि चौतारा साँगाचोकगढी ४ बस्ने सन्तोष भण्डारीलाई वारेसनामा दिई सिन्धुपाल्चोक जिल्ला अदालतमा फिरादपत्र दर्ता गरी हाजिर हुने गरी पत्र जारी भएको रहेछ । श्रीमान् सुशील गिरी मैले थाहा नपाउने गरी बीचमा स्वदेश आएर अरुसँगै दोस्रो विवाह गरिसकेको भन्ने आफन्तबाट बुझिन आएपछि विदेश हिँड्नुभन्दा पहिला २०८० भाद्र १७ गते चौतारा साँगाचोकगढी नपा वडा नं १२ को कार्यालयमा निवेदन दर्ता गरेको छु । 

अब म तुरुन्तै स्वदेश फर्कन सक्ने अवस्था पनि छैन । राजदूतावासमार्फत मेरो वारेसनामा कसैलाई दिऊँ भने पनि साईप्रस हेर्ने दूतावास इजरायलमा भएकाले त्यहाँसम्म जान सक्ने अवस्थामा छैन । ममाथि यसप्रकारको फट्याइँ, जालसाजी र हिंसाविरुद्धको आवाजमा साथ दिनु हुनेछ भन्ने अपेक्षा गरेको छु । विदेशी भूमिबाट न्याय माग गरिरहेको छु । सिन्धुपाल्चोक जिल्ला अदालतलाई एकतर्फी फैसला नगर्न अनुरोध गर्छु । ज–जसले मेरो यो पीडा सुनेको छ । पढेको छ उनीहरूलाई पनि सहयोग गरिदिनुहुन अनुरोध गर्छु । अझै पनि हामी महिला दाइजोकै कारण पीडामा बस्नुपर्ने, श्रीमान्ले छानीछानी श्रीमतीहरू फेर्न पाउने, हामीले न्याय माग्दा श्रीमान् नै अगाडि उभिनुपर्ने परिस्थितीबाट कसरी र कहिले मुक्ति मिल्छ होला ? नेपालमा रहेका महिला आयोगका पदाधिकारी तथा महिला अधिकारको क्षेत्रमा कार्यरत सम्पूर्ण संघसंस्था, मानवअधिकारकर्मी, सञ्चारकर्मी, न्यायकर्मी र सामाजिक अभियन्तामा चरम घरेलु हिंसामा परी जीवन धान्ने बाध्यताले बिदेसिन बाध्य महिलाको तर्फबाट सबैलाई हार्दिक नमनसहित न्यायको भीख माग्दै छु । यो भीख मेरो प्राणको लागि हो ।

न्यायको खातिर न्यायको लागि हो । कुनै न कुनै बहानामा मलाई न्याय पाउनबाट वञ्चित नगरियोस् । विश्वभर लंैगिक हिंसाविरुद्धको अभियान सम्पन्न भएको छ । भर्खरै सम्पन्न १६ दिने अभियानले के सन्देश दियो ? अब के हुन्छ ? हरेक दिन महिला हिंसामा छन् । लैंगिक हिंसामा धेरै पीडित हुने भनेको महिला हो । महिलाका कारण पुरुष पनि पीडामा छन् सत्य हो तर महिला धेरै पीडामा छन् । यसका धेरै कारण रहेछन् । महिला आफैँमा सशक्त हुन नसक्नु । आफ्नो खुट्टामा उभिन नसक्नु । आर्थिक रूपले सक्षम नहुनु । शिक्षा तथा रोजगारमा पहुँच पुग्न नसक्नु । धेरै कारण महिला हिंसामा पर्दा रहेछन् । लिंगका आधारमा महिलालाई लाञ्छना लगाउन पनि सहज हुने रहेछ । महिलाप्रतिका लाञ्छना समाजले सहजै पत्याउँदो रहेछ । हो होइन, भएको के हो ? कसरी यस्तो हुन पुग्यो ? भएर पो भयो कि ? नभएरै पो भयो कि ? यस्ता विषयमा समाजले खोज्ने ? बुझ्ने र विश्लेषण गर्ने अवस्था हुँदो रहेनछ । त्यही कारण नेपालमा विशेषगरी धेरै महिला हिंसामा परेका छन् । 

म पनि त्यही हिंसामा परेको महिला हुँ । न्यायका लागि धेरै स्थानमा धाउनु सामान्य रहेछ । विदेशमा यस्तो खालको हिंसा हुँदा तत्कालै न्यायको महसुस गराउँदो रहेछ सरकारले । नेपालमा त सरकार पनि त्यस्तै । त्यही सरकारलाई मत दिएर विजयी गराउने हामी जनता झन् त्यस्तै । जनताका लागि काम गर्छु, कानुन बनाउँछु भन्नेहरू त्यस्तै । त्यही कानुन कार्यान्वयन गराउने कर्मचारी पनि त्यस्तै । पहिला पहिला भन्दा त अहिले महिला स्वतन्त्रजस्तै छन् । चुल्हो चौकामा सीमित महिला अहिले देश विदेशमा छन् । आफैँ चालक छन् । पाइलट छन् । मुलुक हाँक्ने स्थानमा पनि पुगेका छन् । तर केही महिला पुगेका आधारमा समग्र महिलाको अवस्था सुध्रियो भनेर सोच्न थालियो भने असहज हुन्छ । नेता भाषण गर्दा महिलामैत्री बनेरै गर्छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि काभ्रेको पाँचखालमा भाषण गरेको सुन्दा मन त खुशी भयो तर अधिकारका लागि लडिरहनु परेकाको विवशता सम्झेर आँशु पनि आयो ।

छिट्टै मुलुकमा महिला प्रधानमन्त्री भएको हेर्न मन छ भन्ने भाषण तत्कालीन अवस्थामा गिरिजाप्रसाद कोइरालाले पनि भन्दै आउनु भयो । छोरी सुजातालाई प्रधानमन्त्री बनाउने बेला त्यही भन्नुहुन्थ्यो । सकेजति पद दिलाए पनि प्रधानमन्त्री पदमा छोरीलाई पुर्‍याउन सक्नु भएन । अहिलेको गठवन्धन दलको सम्भावना पनि होला । आरजु राणा प्रधानमन्त्री बन्ने संकेत प्रचण्डले केही पाउनुभयो कि ? नत्र जुन स्थानमा पुग्यो त्यही स्थानमा त्यही समुदायका व्यक्तिलाई पद वितरण गर्ने, मन लागेको थियो भनेर भावनात्मक ब्लाकमेलिङ गर्ने नेताको बानीले मुलुक पछि परेको छ । हुन त अहिले स्थानीय तहमा ४० प्रतिशत, संघीय संसद्मा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागिता छ । स्थानीय तहमा निर्वाचित महिलाले मासिक भत्ता लिनुबाहेक अरु केही गर्ने अधिकार र सामथ्र्य राख्छन् होला ? त्यहाँ नेतृत्व गर्ने माथिल्ला तहका पुरुषले काम गर्न दिन्छन् ? अझ अहिले त गठवन्धनका नाममा प्रमुख वा उपप्रमुख पदमा महिला र पुरुष फरक फरक हुनुपर्नेमा सबै पुरुष नै पुरुष छन् । मनमा भएका सबै कुरा कसरी पुरुषलाई भन्न सकिन्छ ? महिलाका अनेक समस्या छन् ।

अनेक चाहना छन् । त्यसको व्यवस्थापनका लागि जति महिलालाई सहज रूपमा भन्न सकिन्छ त्यति पुरुषलाई सकिन्न । यही कारण पनि हरेक क्षेत्रमा महिला हिंसाका घटना भएका छन् । विदेशमा त्यस्तो छैन । महिलालाई गरिने व्यवहार र सम्मान अलग्गै छ । नेपालमा पनि कानुन नभएको होइन । कार्यान्वयन छैन । सक्ने र पहुँच हुनेहरूले जे गर्दा पनि हुन्छ भन्ने सोच छ । त्यही कारण हामी पीडामा छौं । म पीडामा छु । मेरो पीडा कसले सुन्ने ! सक्नेले जे गरे पनि हुन्छ ? खबरदार, कुनै दिन हाम्रा आवाज पनि मुखरित हुन पाए भने त्यो दिन सबैको बाजा बज्नेछ ।

– मीरा पुरी (गिरी), धुलिखेल–८, काभ्रे, हाल : साइप्रस पारालिमनी
 

टिप्पणीहरू